पोम्पेओ र हेलीलाई ह्वाइट हाउसको नयाँ टोलीमा समावेश गर्न ट्रम्पद्वारा अस्वीकार


२०८१ कार्तिक २५ आइतबार २१:५७ बजे

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई वरिष्ठ नेतालाई नयाँ प्रशासनमा प्रवेश नदिने बताएका छन् । पूर्व विदेशमन्त्री माइक पोम्पेओ र संयुक्त राष्ट्रसङ्घकी पूर्व राजदूत निक्की हेलीलाई पुनः नियुक्त गर्ने सम्भावनालाई ट्रम्पले अस्वीकार गरेका छन् । 

आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल, ट्रुथ सोसल सोसल नेटवर्कमा लेख्दै ट्रम्पले आफ्नो नयाँ टिमको पहिचानबारे अड्कलबाजी भइरहेका बेला आफूले ती दुबै व्यक्तिलाई आफ्नो प्रशासनमा सामेल नगर्ने बताएका छन् । पोम्पेओले जुलाईमा युक्रेनका लागि थप हतियार स्थानान्तरण र रूसको ऊर्जा क्षेत्रविरुद्ध कडा कदम चाल्ने योजनाको रूपरेखा प्रस्तुत गरेका थिए । 

ट्रम्पले आफ्नो सत्ताको पहिलो २४ घण्टामा युक्रेनको युद्ध अन्त्य गर्न सक्ने दाबी गर्दै आएका छन् भने रूसविरुद्धको लडाइँमा किएभलाई दिइएको अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन् । हेलीले यस वर्ष रिपब्लिकन प्राइमरीमा ट्रम्पलाई समर्थन गर्नु अघि उनीबिरूद्ध प्रतिस्पर्धा गरेका थिए । 

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले शनिबार लेखेका छन्, ‘म उनीहरूसँग पहिले पनि काम गरेको हो र त्यसको प्रशंसा गर्छु र हाम्रो देशको सेवाका लागि उनीहरूलाई धन्यवाद दिन चाहन्छु ।’ ट्रम्पले आफ्नो चुनावी अभियानका म्यानेजर सुसी विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरिसकेका छन् । ह्वाइट हाउसको महत्वपूर्ण द्वारपालको भूमिकामा नियुक्त हुने उनी पहिलो महिला हुन् । रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७