कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनर्स्थापना
काठमाडौं । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनर्स्थापना गरिएको छ । जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट दरबार परिसरको मूल चोकमा ल्याइएको थियो ।
शुक्रबार राति १० बजेको शुभसाइतमा कुमारीलाई देवीको दर्शन गराएपछि शनिबार तलेजुको मूर्ति मन्दिरमा पुनर्स्थापना गरिएको कुमारीघरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए । हरेक वर्ष विजयादशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए । रासस