कैलालीमा एमाले उम्मेदवारमाथि खुकुरी प्रहार, पाँच जना घाइते


२०७९ बैशाख २९ बिहीबार १५:०३ बजे


कैलाली । कैलालीको गोदावरी नगरपालिका-६ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली कांग्रेसका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् ।

बुधबार राति गोदावरी नगरपालिका-६ बडेहा भन्ने स्थानमा नेकपा एमालेका उम्मेदवार जग्गु चौधरीको घरमै पसेर खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहारबाट उम्मेदवारका भाइ विन्तीराम चौधरी सबैभन्दा बढी घाइते भएका छन् । उनको पाखुरामा खुकुरीको गहिरो चोट लागेको छ । उनलाई उपचारका लाग अत्तरियामा रहेको पदमा अस्पतालमा भर्ना गरिएको छ । घाउ गहिरो भएकाले उनको शल्यक्रिया गरिएको पदमा अस्पतालका डाक्टर नरबहादुर मौनीले बताए ।

यस्तै उम्मेदारका भतिजा रविन चौधरीको पनि कान्छी औंला काटिएको छ । ‘हामीहरु खाना खाएर सुत्ने तयारीमा थियौं, नेपाली कांग्रेसका युवाहरु प्रकाश ओली, विनोद शाहसहितका १४/१५ जना टोली आयो, उनीहरु मदिरा पिएर लठ्ठिएका थिए । एकाएक घरभित्र पसे, जग्गु चौधर कता छ भनेर सोधे, हामीले उनलाई अँध्यारोमा लुकाइ दियौं, अनि मलाई पहिला लठ्ठीले हान्यो, मैले लठ्ठी खोसे, त्यसपछि खुकुरीले घाँटीमा हान्न खोजेका थिए, मैले हातले छेकेपछि हात काटियो,’ पदमा अस्पतालमा उपचारत विन्तीराम चौधरीले भने ।

उम्मेदवार जग्गु चौधरीको छोरीको पिठ्युमा चोट लागेको छ । ‘मलाई भित्रबाट तानेर बाहिर आँगनमा ल्याए, खुकुरीले हान्न खोजेका थिए, म भागेँ, अनि खुकुरीको उल्टो भागले हाने । पिठ्युँमा चोट लाग्यो,’ लक्ष्मीले भनिन् । घरमै पसेर आक्रमण गर्दा पनि प्रहरीले सहयोग नगरेको पीडितले बतााए । ‘प्रहरीलाई खबर गर्‍यौं, पाँच मिनेटको समयमा पुग्नुपर्ने प्रहरी एक घण्टा ढिलो आयो’, घाइते विन्तीरामले भने ।

उम्मेदवारको घरमै पसेर खुकुरी प्रहार गरेपछि नेकपा एमालेका केन्द्रीय सचिव एवम सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, पोलिटब्यूरो सदस्य तथा कैलाली ईञ्चार्ज नारदमुनी राना, प्रदेश सचिव धर्मराज पाठक, मेयरका उम्मेदवार गोकणर् भट्टसहितको टोलीले घाइतेलाई अस्पतालमै पुगेर भेटेका छन् । उनीहरु घाइतेको घर पनि गएका छन् ।

धादिङमा माओवादी आक्रमणबाट कांग्रेस वडाध्यक्ष उम्मेदवार घाइते
धादिङमा माओवादी कार्यकर्ताहरुको आक्रमणमा वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र श्रेष्ठ घाइते भएका छन् । बुधबार धादिङ्को नीलकण्ठ नगरपलिका-६ स्थित सुनौलाबजारको देउराली छापमा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठमाथि आक्रमण गरेका हुन् ।

भोर्लेबाट फर्कदै गरेका अवस्थामा माओवादीको आक्रमण हुँदा उनीसहित अन्य २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय घादिङले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा भुपेन्द्र श्रेष्ठ, तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, रामहरी मगराती, राजकुमार श्रेष्ठ र विष्णुकुमार नेपाली छन् ।

यस्तै गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । सोधपुछको लागि कृष्ण कुमार श्रेष्ठ, अनिलकुमार श्रेष्ठ र सुरेन्द्र शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी नयाव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७