सडकबाट हिन्दू राष्ट्र घोषणा गर्छौंः कमल थापा
विराटनगर, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडकबाटै हिन्दूराष्ट्र घोषणा गर्ने बताएका छन् । हिन्दू राष्ट्र घोषणा गराउन दबाब दिनक लागि राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन बिराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा थापाले भने–‘राप्रपा कमजोर भएर उठ्न सकेन भने नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सदाका लागि समाप्त भएर जान्छ । सहमतिका आधारमा संविधानमा हिन्दु राष्ट्र कायम गर्ने हाम्रो प्रयास रहनेछ, नयाँ सहमतिका लागि सरकार, नेकपा र नेपाली कांग्रेसलाई बिराटनगरबाट नै आह्वान गर्छु । हामी जनसंघर्षको चरणमा छौं, सहमति हुन नसके अर्को चरणमा सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्नेछौं ।’
अध्यक्ष थापाले सम्बोधनका क्रममा भने–२३ वर्षअघि आमूल परिवर्तनको नाममा हिंसात्मक विद्रोह भयो, सत्र हजार नेपालीको ज्यान गयो । खरबौं सम्पत्ति नष्ट भयो, सदियौंदेखिको दासताको अन्त्य गर्न भनेर जनतालाई आन्दोलनमा होमियो, आखिर जनताले के पाए ? केपी ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर देउवा वा अरु कोही भएर केही हुँदैन । १२ वर्ष अघि १२ बुँदे मार्फत् तय गरिएको मार्गचित्रको प्रणालीगत कमजोरी हो । देशले धेरै दुस्ख पायो अब पुनर्विचार गरौं ।
पार्टीका सदस्यहरु पार्टीका राम्रा नराम्रा निर्णयको बचाऊ गर्ने उनीहरूको कर्तव्य हो, जनता कुनै पार्टीका कार्यकर्ता होइनन्, हरेक पार्टीका राम्रा नराम्रा पक्षलाई केलाएर जनताले आफ्नो विवेकको अधिकार प्रयोग गरेको दिन नेपालमा विकास, परिवर्तन र समृद्धि सम्भव छ, थापाले भनाइ थियो–प्रधानमन्त्रीका सन्तान छैनन्, कसैका लागि सम्पत्ति कमाएर राखिदिनुपर्ने आवश्यकता पनि छैन, हिम्मतका साथ एनसेल कर छली, सुनकाण्डदेखि हवाईजहाज खरिदसम्मका भ्रष्टाचारका दोषीलाई कारबाही गर्नुस् राप्रपाले साथ दिनेछ, भ्रष्टाचारीलाई कारबाही गर्न र विखण्डनको आवाजलाई निस्तेज पार्न सक्नु भएन भने इतिहासले माफ गर्ने छैन ।
आमसभामा राप्रपाका नेता बुद्धिमान तामाङले भने, जनता कांग्रेस हुनु छ हुनुहोस्, कम्युनिस्ट हुनु छ हुनुहोस् तर नेपालको अखण्डता कायम रहोस् भन्ने चाहनुहुन्छ भने, नेपाललाई हिन्दु राष्ट्र बनोस् भन्ने चाहनुहुन्छ भने राप्रपाले अभियान सञ्चालन गरिरहेको अभियानलाई साथ दिनुहोस् ।
कार्यक्रममा सांसद समेत रहेका राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा चुनाव केन्द्रित नभएको बताए । हामी देश बचाउने र देश बनाउने अभियानमा छौं, हामीलाई भोट होइन सपोर्ट चाहिएको छ, उनले भने ।
राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन आज झापाको दमकबाट प्रारम्भ भइ मोरङका विभिन्न स्थानमा कोणसभा गर्दै विराटनगरमा आमसभामा परिणत भएको छ । यात्रा आज नै सुनसरी र सप्तरीका विभिन्न स्थानमा सभा गर्दै साँझ सिरहाको लाहान पुग्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।