शेखर कोइराला भन्छन्–पूर्व राष्ट्रपतिलाई राजनीतिमा फर्किन कसले रोक्न सक्छ र ?
‘कांग्रेस–एमालेबीचको सहमति अनुसार सरकार अघि बढेन’

मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषदसम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर प्रश्न उठाएका छन् । आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
उनले कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको बताए । संविधान संशोधन वा पुनरावलोकनको चर्चा समेत हराएको र यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटी समेत एक महिना बितिसक्दा पनि गठन हुन नसकेको उनले बताए ।
लिची बगान घुस प्रकरणमा एक मन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्ग जोड्दै उनले राजनीतिमा नैतिकताको अपरिहार्यतामा जोड दिए । ‘नैतिकता बिनाको राजनीति हामीले गर्न थाल्यौँ भने राजनीति धरापमा पर्छ,’ कोइरालाले भने ।
उनले संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख गरी छ जना वरिष्ठ व्यक्तिहरू हुने व्यवस्था रहेको तर अध्यादेशमार्फत दुई वा तीन जनाले मात्रै निर्णय गर्न सक्ने गरी आएको प्रावधानलाई खतरनाक हुने बताए । राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएको विषयमा पनि उनले गम्भीर चासो व्यक्त गरेका छन् ।
डा. कोइरालाले हालै पूर्व राष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँगको भेटघाटलाई कुनै नयाँ कुरा नभएको बताएका छन् । ‘हामी राजनीति गर्दैछौं । म नेपाली कांग्रेसमा छु, कोही एमालेमा होला, कोही माओवादीमा होला, कोही अन्य दलमा होला । हामीहरूले भेट गरिरहनु पर्छ,’ उनले भने । नेता डा. कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुनः राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् ।
‘पूर्व राष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरे पनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘मलाई सोध्नु हुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र ?’ उनले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताए । संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनु पर्ने कुरामा उनले जोड दिए। नेपाली कांग्रेसको महाधिवेशन २०८२ भित्रै हुनुपर्नेमा आफू अडिग रहेको उनले दोहोर्याएका छन् ।