स्वेच्छाचारी शैलीविरुद्ध गगनको चेतावनी, ‘सरकारमा बसेकाको इच्छा नै कानुन हुन सक्दैन’
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वक्तव्यबाजी गरेर मात्रै जिम्मेवारी पूरा नहुने बताएका छन् ।
सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनादेखि सरकारी कर्मचारीमाथि गरिएको धरपकडसम्मका विषय उठाउँदै उनले सरकारसँग स्पष्टीकरण होइन, परिणाम मागेका हुन् ।
नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताए । सरकारका पछिल्ला निर्णय र देशमा भएका घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।
सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
‘सरकारले गरेका पछिल्ला निर्णय र देशमा घटेका घटनाले गम्भीर प्रश्न जन्माएका छन् । लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले सीमा नाघ्छ भने नेपाली कांग्रेस चुप लागेर बस्दैन,’ उनले भने ।
सभापति थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए । सञ्चारगृहमा प्रहरी परिचालन र पत्रकार पक्राउको घटनाले शाही शासनकालमा सञ्चारमाध्यममाथि भएको हस्तक्षेपको स्मरण गराएको उनको टिप्पणी थियो ।
प्रहरीका तर्फबाट आएका फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले घटनाबारे थप अन्योल सिर्जना गरेको उनले बताए ।
घटनालाई सामान्य वक्तव्य जारी गरेर टुंग्याउन नहुने भन्दै थापाले पत्रकार पक्राउ गर्न कसले आदेश दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष छानबिन गर्न माग गरे ।
‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ उनले भने, ‘किन भयो, कसले गर्यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ ।’
उनले घटनामा जिम्मेवार व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्नुपर्ने बताए ।
नेता थापाले सरकारमा रहेका व्यक्तिको इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि स्वीकार्य नहुने बताए । राज्यका निकाय कुनै व्यक्ति वा पदाधिकारीका निजी आदेश पालना गर्ने संस्था नभएको उनको भनाइ थियो ।
राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले शक्तिको स्वेच्छाचारी प्रयोग रोक्नुपर्नेमा जोड दिए ।
‘सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन्,’ उनले भने ।
सरकारका हरेक गतिविधि कानुनी प्रक्रिया, संस्थागत मर्यादा र नागरिक अधिकारको सम्मानअनुसार हुनुपर्ने उनको भनाइ थियो ।
सभापति थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि पनि प्रश्न उठाए । सरकारले गरेका राम्रा कामको श्रेय लिने तर विवादित र गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि राजनीतिक दललाई नहुने उनले बताए ।
सरकारको नेतृत्व गर्ने दलले सरकारका निर्णय र गतिविधिको राजनीतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
‘सरकारले गरेका राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि दललाई हुँदैन । सरकारको नेतृत्व गर्ने दलले सरकारका कामको राजनीतिक जिम्मेवारी लिनुपर्छ,’ थापाले भने ।
थापाले सरकारी कर्मचारीलाई कार्यस्थलबाटै पक्राउ गरेर प्रधानमन्त्री कार्यालय पुर्याइएको घटनामाथि पनि प्रश्न उठाए । कर्मचारीले गल्ती गरेको भए प्रचलित कानुन र स्थापित संस्थागत प्रक्रियाअनुसार अनुसन्धान तथा कारबाही हुनुपर्ने उनको भनाइ थियो ।
राज्यका निकायले अवलम्बन गर्दै आएका प्रक्रिया मिचेर प्रहरी परिचालन गरी कर्मचारी पक्राउ गर्नु उचित नहुने उनले बताए ।
सरकारको कार्यशैलीमा देखिएको स्वेच्छाचारिताप्रति कांग्रेसको असहमति रहेको स्पष्ट पार्दै थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको रक्षाका लागि प्रतिपक्षले निरन्तर निगरानी र खबरदारी गर्ने बताए ।
.gif)

.png)




