१८ वर्षमुनिको प्रेम सम्बन्धलाई अपराध मान्ने कानुन फेरिँदै
दुई वर्ष उमेर अन्तरको नयाँ प्रस्ताव
काठमाडौं : किशोरकिशोरीबीचको सहमतिपूर्ण यौन सम्बन्ध र यौन शोषणलाई एउटै कानुनी दृष्टिले हेर्ने विद्यमान व्यवस्थामा परिवर्तन गर्ने तयारी सरकारले गरेको छ ।
विवाहको उमेर नपुगेका किशोरकिशोरीबीच प्रेम सम्बन्ध रहेर सहमतिमा यौन सम्बन्ध भएमा त्यसलाई जबरजस्ती करणीसरह सजाय नगर्ने गरी सरकारले कानुन संशोधनको मस्यौदा तयार पारेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहिताको दफा २१९ संशोधन गर्ने गरी तयार पारेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
प्रचलित कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको मञ्जुरीमै यौन सम्बन्ध राखे पनि जबरजस्ती करणी मानिन्छ ।
तर प्रस्तावित संशोधनले विवाहको उमेर नपुगेका किशोरकिशोरीबीच प्रेम सम्बन्ध रहेको, दुवैको मञ्जुरी भएको र उमेरको अन्तर दुई वर्ष वा सोभन्दा कम भएको अवस्थामा फरक कानुनी व्यवस्था गर्न खोजेको छ ।
प्रस्तावित विधेयकमा यस्तो अवस्थामा सम्बन्ध राख्ने व्यक्तिलाई एक वर्षसम्म सजाय हुने उल्लेख छ ।
अधिवक्ता दिदृीक्षा सिंहले विद्यमान कानुनले यौन शोषण र समान उमेर तथा परिपक्वताका किशोरकिशोरीबीचको सहमतिपूर्ण सम्बन्धबीच स्पष्ट भिन्नता छुट्याउन नसकेको बताएकी छन् ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यौन हिंसासम्बन्धी वकालत पत्र : नेपालमा कानुनी रिक्तता र सुधारको आवश्यकता’ विषयक छलफलमा प्रस्तुतीकरण गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
उनका अनुसार सहमतिपूर्ण प्रेम सम्बन्धमा रहेका किशोरकिशोरीसमेत जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकजस्ता गम्भीर कसुरमा मुद्दा खेप्नुपर्ने अवस्था छ ।
उनले दुवै किशोरकिशोरी कम्तीमा १४ वर्ष पुगेका र उमेरको अन्तर दुई वर्षभन्दा बढी नभएको अवस्थामा सहमतिपूर्ण यौन सम्बन्धलाई पूर्ण रूपमा अपराधको दायराबाट बाहिर राख्नुपर्ने सुझाव दिएकी छन् । तर डर, धम्की, प्रलोभन, शोषण वा शक्ति तथा अधिकारको दुरुपयोग भएका घटनालाई भने यस्तो छुट दिन नहुने उनको भनाइ छ ।
जबरजस्ती करणीको परिभाषा विस्तार
सरकारले तयार पारेको विधेयकले जबरजस्ती करणीको परिभाषासमेत विस्तार गर्न खोजेको छ । करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यान, अपहरण वा शरीर बन्धक बनाएर लिइएको मञ्जुरीलाई कानुनी रूपमा मञ्जुरी नमानिने प्रस्ताव गरिएको छ ।
त्यस्तै, होस ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरीलाई पनि मान्यता नदिने व्यवस्था मस्यौदामा समेटिएको छ ।
एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले भने होस ठेगानमा नरहेको अवस्थाको परिभाषा अझ फराकिलो बनाउनुपर्ने बताएका छन् ।
उनले सौन्दर्य प्रतियोगिताको आडमा बालिका तथा युवतीमाथि यौन दुर्व्यवहार र बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।
फ्यान्टामा औषधि मिसाएर खुवाई यौन दुर्व्यवहार गरेको आरोप लागेको प्रसंग उल्लेख गर्दै उनले रक्सी, लागूऔषध वा अन्य नशालु पदार्थ सेवन गराइएको अवस्थालाई पनि कानुनले स्पष्ट रूपमा समेट्नुपर्ने बताए ।
वैवाहिक जबरजस्ती करणीमा पनि कडा व्यवस्था
प्रस्तावित विधेयकले वैवाहिक सम्बन्धभित्र हुने जबरजस्ती करणीलाई छुट्टै कसुरका रूपमा परिभाषित गर्न खोजेको छ ।
नयाँ प्रस्तावित दफा २१९क अनुसार पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।
यस्तो घटनामा पीडित पत्नीको निवेदनका आधारमा अदालतले पतिलाई पत्नीलाई घरमा बस्न दिन, खानलाउन दिन, कुटपिट नगर्न र शिष्ट तथा सभ्य व्यवहार गर्न आदेश दिन सक्नेछ । आवश्यक उपचार गराउन वा उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश दिन सक्ने प्रस्ताव छ ।
पति–पत्नीलाई एउटै घरमा बस्न उपयुक्त नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था मिलाउन र पत्नीको भरणपोषणको प्रबन्ध गर्नसमेत अदालतले आदेश दिन सक्नेछ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक पनि कानुनी दायरामा
प्रस्तावित संशोधनले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिमाथि वा त्यस्ता व्यक्तिहरूबीच मञ्जुरीबिना करणी गरेमा जबरजस्ती करणी मानिने व्यवस्था गरेको छ ।
त्यस्तै, सामूहिक रूपमा जबरजस्ती करणी गर्ने कसुरदारलाई मूल सजायमा थप पाँच वर्षसम्म कैद गर्ने प्रस्ताव गरिएको छ ।
छ महिनाभन्दा बढी गर्भवती महिला, पूर्ण अशक्त वा अति अशक्त अपांगता भएका व्यक्ति, शारीरिक वा मानसिक रूपमा अस्वस्थ व्यक्ति तथा हातहतियार देखाएर जबरजस्ती करणी गरेको अवस्थामा पनि मूल सजायमा थप पाँच वर्षसम्म कैद हुने व्यवस्था मस्यौदामा समेटिएको छ ।
.gif)

.png)




