मधेशका मुख्यमन्त्री यादवले लिए शपथ : तीन दल अनुपस्थित


२०८३ मङ्सिर ६ आइतबार १३:१४ बजे

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले शनिबार उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनको शपथग्रहण समारोहमा जनमत पार्टीका तर्फबाट चन्दनकुमार सिंह मात्रै समारोहमा सहभागी भए । तर, नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता अनुपस्थित रहे ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफू गृहजिल्ला रौतहटमा रहेकाले समारोहमा उपस्थित हुन नसकेको बताए । प्रदेश प्रमुखको कार्यालयबाट शपथको एक घण्टाअघि मात्रै निमन्त्रणा आएको उनको भनाइ छ ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता युवराज भट्टराईले पनि आफू रौतहटमै रहेकाले उपस्थित हुन नसकेको बताए । नवनियुक्त मुख्यमन्त्रीले एक घण्टाअघि मात्रै फोन गरेकाले समारोहमा पुग्न नभ्याएको उनले जानकारी दिए ।

शपथग्रहण समारोहमा जसपा नेपालकै पूर्वमुख्यमन्त्री लालबाबु राउत सहभागी भए पनि पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल भने अनुपस्थित रहे ।

शपथपछि मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारलाई सर्वदलीय स्वरूप दिने बताएका छन् । उनले एक साताभित्र प्रदेशसभाबाट विश्वासको मत लिने पनि बताए ।

तर, शपथग्रहण समारोहमा तीन प्रमुख दलका नेता अनुपस्थित हुनुले उनको विश्वासको मत प्राप्त गर्ने प्रयास चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दिएको समयसीमाको अन्तिम दिन मंसिर ४ गते अपराह्न एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेताहरूले प्रदेश प्रमुखसमक्ष समय थप गर्न आग्रह गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७