नेतृत्व परिवर्तनपछि प्रहरीमा सरुवा तीव्र, एसपी पाठक विशेष ब्यूरोमा


२०८३ मङ्सिर २ बुधबार ०९:४७ बजे

काठमाडौं : प्रहरी नेतृत्व परिवर्तनसँगै रोकिएको सरुवा प्रक्रिया अघि बढ्न थालेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार केही एसपी र डीएसपीको काज सरुवा गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसपी सुदीप पाठकलाई प्रहरीको विशेष ब्यूरोमा खटाइएको छ । विशेष ब्यूरोले प्रहरी संगठनको अति महत्त्वपूर्ण अपरेशनल जिम्मेवारी सम्हाल्दै आएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत एसपी काजीकुमार आचार्यलाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा काज सरुवा गरिएको छ । सिन्धुपाल्चोक प्रहरी प्रमुखको जिम्मेवारी एसपी निरञ्जनदत्त भट्टलाई दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

मंगलबार केही डीएसपीको समेत काज सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा, इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतलाई सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयमा र इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीलाई प्रदेश प्रहरी गण पोखरा, कास्कीमा खटाइएको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयको लेखा शाखामा विश्वराज अधिकारी, प्रबन्ध शाखामा तर्कराज पाण्डे र विपद् व्यवस्थापनमा मदन कुँवरलाई काज सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डीएसपी दानबहादुर थापालाई कर्मचारी प्रशासन शाखामा ल्याइएको छ ।

प्रहरी संगठनमा सरुवा, बढुवा तथा जनशक्ति व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण काम कर्मचारी प्रशासन शाखाबाट हुने गर्छ । नेतृत्व परिवर्तनपछि लामो समयदेखि रोकिएका सरुवा तथा जनशक्ति व्यवस्थापनका काम क्रमशः अघि बढ्न थालेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७