दसौँ राष्ट्रिय खेलकुदमा ११ टोली र ७४० खेलाडी सहभागी हुँदै
काठमाडौं : दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभिन्न समितिहरू सक्रिय भएका छन् ।
वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालालाई मुख्य केन्द्र बनाएर तयारीका बैठक तथा छलफल भइरहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही प्रतियोगिताको व्यवस्थापन, पूर्वाधार र सुरक्षा तयारीमा केन्द्रित छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियल, अतिथि तथा दर्शकको स्वागतका लागि सुर्खेतका विभिन्न स्थानमा स्वागतद्वार निर्माण थालिएको छ । वीरेन्द्रनगरका बजार क्षेत्रमा प्रतियोगिताको प्रचारप्रसारका लागि माइकिङसमेत भइरहेको छ ।
दसौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । तर, मुख्य खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् । प्रतियोगितामा सात जिल्लाका विभिन्न खेलस्थलमा प्रतिस्पर्धा हुनेछ ।
सुर्खेतमा २३ खेल आयोजना हुनेछन् भने लुम्बिनी प्रदेशको नेपालगन्ज र बर्दिया तथा कर्णालीको सल्यानमा दुई-दुई खेल सञ्चालन हुनेछन् । दैलेख, कालीकोट र पश्चिम रुकुममा एक-एक खेल आयोजना गरिनेछ ।
मुख्यमन्त्री शाहीका अनुसार प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । सामान्य मर्मतबाहेक सबै खेलस्थल तयारी अवस्थामा रहेको र खेल सामग्रीसमेत आउने क्रम जारी रहेको उनले बताएका छन् ।
प्रतियोगिताको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन मुख्यमन्त्रीको अध्यक्षतामा सुरक्षा अधिकारीहरूको बैठक बसेर सुरक्षा तैनाथी बढाउने तथा सीसीटीभीबाट निगरानी गर्ने निर्णय गरिएको छ ।
प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । खेलस्थल, मुख्य चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएका छन् ।
सहभागी खेलाडी, प्रशिक्षक, अतिथि तथा दर्शकलाई आवासको समस्या नहोस् भनेर होटलहरूमा पर्याप्त कोठाको व्यवस्था गरिएको छ । प्रतियोगितालाई व्यवस्थित बनाउन राखेपको टोली सुर्खेतमै खटिएको छ ।
विभिन्न उपसमिति बनाएर तयारीलाई तीव्रता दिइएको दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले जानकारी दिएकी छन् ।
१ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटनअघि नै १० खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् । त्यस्तै, ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् ।
पदक विजेतालाई राखेपले नगद पुरस्कार दिने व्यवस्था गरेको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण विजेताले २० हजार, रजतले १५ हजार र कास्यले आठ हजार रुपैयाँ पाउनेछन् ।
टोली स्पर्धामा स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कास्यलाई आठ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक परिचालित हुनेछन् । त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगिताको व्यवस्थापनमा खटिनेछन् ।
लुम्बिनीमा चार खेल
दसौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल आयोजना हुनेछन् ।
नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ तथा बर्दियाको ठाकुरबाबा नगरपालिका भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल सञ्चालन हुनेछन् ।
खेलका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापन पूरा भएको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिएका छन् ।
दसौँ राष्ट्रिय खेलकुदको समापन मङ्सिर २७ गते सुर्खेतमा हुनेछ ।
.gif)

.png)




