एनपीएल फाइनलको टिकट बिक्री नखुल्दै ‘सोल्ड आउट’, दर्शक आक्रोशित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् ।
शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिएपनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा फाइनल खेलको टिकट ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि जनाएका हुन् ।
दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्ममा हेर्दा नै टिकट सकिएको सूचना देखिएको थियो । केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजे खुल्ने समय देखिएको थियो ।

तर, बिक्री खुल्ने समय भएपछि टिकट काट्ने प्रयास गर्दा पनि सफल नभएको दर्शकहरूले बताएका छन् । टिकट नपाएपछि उनीहरू त्रिवि क्रिकेट मैदानमा भेला भएका छन् ।
दर्शकहरूले टिकट बिक्री सुरु हुनुअघि नै कसरी ‘सोल्ड आउट’ भयो भन्दै नेपाल क्रिकेट संघ (क्यान)सँग जवाफ मागेका छन् । उनीहरूले टिकट बिक्रीको विवरण सार्वजनिक गर्नसमेत माग गरेका छन् ।

टिकट बिक्री सुरु नहुँदै सकिएको सूचना देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नसक्नुले सामाजिक सञ्जालदेखि त्रिवि क्रिकेट मैदानसम्म असन्तुष्टि बढेको छ ।
एनपीएलको तेस्रो संस्करणको फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदैछ । साँझ ५ बजे सुरु हुने फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।



.gif)

.png)




