कामिल मिशाराको कीर्तिमान : एनपीएलमा बनाए सर्वाधिक १२० रन

चितवनले काठमाडौंलाई दियो २०५ को लक्ष्य


२०८३ मङ्सिर २ बुधबार १९:५६ बजे
तस्बिरः नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : कामिल मिशाराको कीर्तिमानी शतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिमानी ब्याटिङ गरेका चितवनका ओपनर मिशाराले एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोर बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । चितवनको इनिङ्समा मिशारा सर्वाधिक रन बनाउने खेलाडी रहे ।

उनले ५९ बलमा अविजित १२० रन बनाए। यसक्रममा उनले १० छक्का र ५ चौका प्रहार गरे । उनको स्ट्राइक रेट २०३.३८ रह्यो ।

यसअघि एनपीएलमा व्यक्तिगत उच्च स्कोरको कीर्तिमान कर्णाली याक्सका मार्क वाटको नाममा थियो । उनले सन् २०२५ मा अविजित ११४ रन बनाएका थिए ।

सुरुवातमै दुई विकेट गुमाएर दबाबमा परेको चितवनलाई मिशारा र कप्तान रवि बोपाराले सम्हाले । उनीहरूबीच तेस्रो विकेटका लागि १५४ रनको साझेदारी भयो । बोपाराले ४२ बलमा ५३ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरे ।

काठमाडौंका कप्तान करण केसीले लगातार दुई बलमा देव खनाल र डेविड मलानलाई आउट गर्दै चितवनलाई सुरुमै दबाबमा राखेका थिए ।

खनाल १७ रनमा आउट हुँदा मलान पहिलो बलमै खाता नखोली पभेलियन फर्किए । तर त्यसपछि मिशारा र बोपाराको साझेदारीले चितवनलाई बलियो योगफलसम्म पुर्‍यायो ।

अब काठमाडौंले जितका लागि २०५ रन बनाउनुपर्नेछ । इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७