आईएक्समा थप ५९४ मेगावाट विद्युत् बेच्न प्राधिकरणलाई भारतको स्वीकृति


२०८३ मङ्सिर ३ बिहीबार १४:५७ बजे
फाइल फोटो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्ज (आईएक्स) मा थप ५९४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ । यससँगै भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत कुल परिमाण १ हजार १९८ मेगावाट पुगेको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाबाट उत्पादित विद्युत् आईएक्सको डे-अहेड र रियल टाइम बजारमा बिक्री गर्न अनुमति दिएको हो । 

यो अनुमति १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म लागू हुनेछ ।

स्वीकृत परिमाणमध्ये ३८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट र २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर तथा रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात गरिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत ३८९ मेगावाट र पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) मार्फत २०५ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति प्राप्त भएको हो ।

यसैबीच, भारतले सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् पनि आईएक्समा बिक्री गर्न स्वीकृति दिएको छ । उक्त विद्युत् १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ सम्म निर्यात गर्न सकिनेछ ।

प्राधिकरणले वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत् भारतको बजारमा बिक्री गर्दै आएको छ । मध्यकालीन सम्झौताअनुसार भारतका हरियाणा र बिहार तथा बंगलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ । 

आगामी हिउँदयामको माग व्यवस्थापनका लागि भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्न पनि अनुमति प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७