भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
५६ मेगावाट निर्यात पनि खुला
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न अनुमति दिएको हो ।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ सम्म डे-अहेड र रियल टाइम बजारबाट दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाउनेछ ।
बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन ।
अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन सहज हुने बताए ।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् ।
यस अवस्थालाई समेत ध्यानमा राखेर हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि तयारी गरिएको श्रेष्ठले बताए ।
प्राधिकरणको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसक्ने अनुमान छ । त्यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्नेछ ।
विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् निरन्तर आयात गर्नुपर्ने अनुमान गरिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात आवश्यक पर्ने आकलन छ ।
पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने प्राधिकरणको अनुमान छ ।
आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाने र आन्तरिक विद्युत् उत्पादनमा वृद्धि हुने भएकाले आयात घट्दै जाने तथा निर्यात सुरु हुने अपेक्षा गरिएको छ ।
५६ मेगावाट विद्युत् निर्यातको अनुमति
प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ सम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ ।
.gif)

.png)




