दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं : दुबईमा नेपालीलाई नै ठगी गर्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्री सुदन गुरुङले निर्देशन दिएका छन् ।
नेपालीलाई ठगी गरेर नेपालको इज्जतमा आँच पुर्याउने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै उनले दुबईस्थित नेपाली महावाणिज्यदूतावासलाई निर्देशन दिएका हुन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका मन्त्री गुरुङले दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रियामा यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने गरेको तर त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन नसकिएको गुनासो गरेका थिए ।
त्यसक्रममा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी धन्दामा संलग्न नेपालीलाई कानुनी दायरामा ल्याउने विषयमा आफूहरूलाई नैतिक सङ्कट हुने गरेको बताएका थिए ।
राजनीतिक नेतृत्वबाट स्पष्ट निर्देशन आए भोलिदेखि नै त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ थियो ।
महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले ‘किन नैतिक सङ्कट ? नेपालीलाई ठगेर नेपालीकै इज्जत फाल्ने जोकोहीलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।
उनले नेपालीलाई ठगी गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशनसमेत दिए ।
विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले औपचारिक भ्रमणका क्रममा यूएईका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेका थिए । भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्किएका छन् ।
.gif)

.png)




