गृहसचिवको परम्परा तोड्दै गृहमन्त्रीले लगाए आईजीपी केसीलाई फुली


२०८३ कार्तिक १८ बुधबार १८:०३ बजे
तस्बिर: नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । यसअघि गृहसचिवले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने चलन थियो ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दानबहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

प्रहरी इतिहासमा यसअघि पनि एकपटक गृहमन्त्रीले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिएका थिए ।

तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गर्दा दर्ज्यानी चिह्न प्रदान गरेका थिए । त्यसपछि गृहसचिवले फुली लगाइदिने परम्परा सुरु भएको थियो ।

सुरुमा अवकाशमा जान लागेका आईजीपीले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने चलन थियो । प्रधानको नियुक्तिसँगै उक्त परम्परा तोडिएको थियो ।

गृहमन्त्री गुरुङले कार्यभार सम्हालेको तीन दिनपछि गत १६ चैतमा प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले नै दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।

उनले त्यतिबेला भनेका थिए, ‘अब नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गर्छौं । त्यसका लागि म पहल गर्छु।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७