गृहमन्त्री गुरुङ यूएई प्रस्थान
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।
यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
गृहमन्त्री गुरुङको सचिवालयका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान हुनेछ ।
सम्मेलनमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय गोलमेच बैठक, कार्यशाला, तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा विश्व प्रहरी पुरस्कारलगायतका कार्यक्रम हुनेछन् ।
यस संस्करणमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध, अपराध अनुसन्धान, आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा र स्मार्ट सुरक्षा प्रणालीलगायत १४ विषयगत क्षेत्र समेटिएका छन् ।
सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलामन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
ती भेटमा सुरक्षासम्बन्धी प्राविधिक सहयोग आदानप्रदान तथा मानव बेचबिखन, मानव तस्करी र साइबर अपराध नियन्त्रणका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
.gif)

.png)




