रुपन्देहीमा फेरि ट्याङ्करबाट इन्धन चोरी


२०८३ मङ्सिर ३ बिहीबार ०८:३२ बजे

काठमाडौं : पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट मुख्य ताला वा सिल नतोडी इन्धन चोरी गर्ने नयाँ शैली अपनाइएको आशंकामा रुपन्देहीमा दुई ट्याङ्कर नियन्त्रणमा लिइएको छ ।

ट्याङ्करको माथिल्लो भागमा रहेको प्राविधिक छिद्रको दुरुपयोग गरी इन्धन निकाल्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो ।

मंगलबार बेलुकी तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका नेपाल आयल निगमका ट्याङ्करबाट इन्धन चोरी भइरहेको सूचनापछि प्रहरीले कारबाही गरेको थियो ।

साँझ पौने ८ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चोरी भइरहेको अवस्थामा दुई ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले निगमका लु२ख २६५५ र लु२ख ३९४० नम्बरका ट्याङ्करबाट इन्धन चोरी भइरहेको अवस्थामा तिलोत्तमा नगरपालिका–७ मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाललाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका फुलाल र नियन्त्रणमा लिइएका ट्याङ्करलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मंगलापुरमा बुझाइएको छ ।

यस घटनाले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने इन्धन चोरीको शैली र निगरानी प्रणालीमाथि प्रश्न उठाएको छ ।

भारतबाट नेपाल आयल निगमको भलवारी डिपोका लागि आउने ट्याङ्करमा प्रायः राति वा बिहानको चिसो समयमा इन्धन लोड गरिन्छ । बाटोमा तापक्रम बढ्दा इन्धनको आयतन बढ्ने अवस्थालाई चोरीमा दुरुपयोग गर्ने गरिएको आशंका छ ।

तापक्रम परिवर्तन र गाडीको हलचलले इन्धनको आयतनमा हुने परिवर्तनलाई आधार बनाएर निगमलाई बुझाउनुपर्ने परिमाणबाट इन्धन हिनामिना गर्ने गरेको बताइएको छ। चालक, सहचालक तथा केही पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा यस्तो गतिविधि हुने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो ।

ट्याङ्करको मुख्य ताला वा सिल नतोडी माथिल्लो भागको ढक्कनमा प्राविधिक चलखेल गरेर इन्धन निकाल्ने गरिएको बताइएको छ । यसले ढुवानीका क्रममा लगाइने सिल, सुरक्षा प्रणाली र इन्धनको परिमाण जाँच गर्ने प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।

रुपन्देहीमा केही महिनाको अन्तरालमा इन्धन चोरीका घटना दोहोरिनुले पेट्रोलियम पदार्थको ढुवानी व्यवस्थापन र निगरानी प्रणाली कमजोर रहेको देखाएको छ । ढुवानीका क्रममा इन्धनको परिमाण, सिलको अवस्था, चालकको गतिविधि र गन्तव्यसम्मको निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

इन्धन चोरी नियन्त्रण गर्न ढुवानी प्रणालीमा पारदर्शिता, नियमित अनुगमन र संलग्न व्यक्तिमाथि कडा कारबाही आवश्यक देखिएको छ । यस्ता घटनाले निगमको आर्थिक क्षतिसँगै उपभोक्ताको विश्वास र पेट्रोलियम आपूर्ति प्रणालीको विश्वसनीयतामा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७