झापामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
झापा : झापामा धान काट्ने मेसिन जडित ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । दुर्घटना बुधबार राति १०ः४० बजे भएको प्रहरीले जनाएको छ ।
राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन जडित ट्याक्टर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको झापाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)

.png)




