लोकतन्त्र रक्षाका लागि फेरि सामूहिक रूपमा उठ्नुपर्छ : शंकर पोखरेल

‘अनुहार बदलेर हुँदैन, बदलाव ल्याउन नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छ’


२०८३ असोज १८ आइतबार १७:३६ बजे

काठमाडौं :  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाउँदै लोकतन्त्र, राष्ट्रियता र विकासका सवालमा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिका पक्षमा कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताए।

उनले पछिल्लो राजनीतिक परिवर्तनले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अनुहार परिवर्तन मात्रै पर्याप्त नहुने बताए। ‘अनुहार बदलेर हुँदैन, बदलाव ल्याउन नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छ,’ उनले भने।

पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकारले पनि जनतामा आशा ल्याउन नसकेको आरोप लगाए। सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न असफल भएको उनको दाबी थियो।

‘सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन। सरकार संसद्सँग संवाद गर्दैन, नागरिकसँग संवाद गर्दैन,’ उनले भने, ‘सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन।’

उनले प्राकृतिक विपद् तथा अन्य संकटको सामना गर्न सरकारको तयारीप्रति समेत प्रश्न उठाए। भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले भविष्यमा आउन सक्ने प्राकृतिक विपद् सामना गर्ने विषय चिन्ताको विषय बनेको बताए।

पोखरेलले लोकतन्त्रको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको बताए। निर्वाचित प्रधानमन्त्रीले आफ्नै संसदीय दल, संसद् र जनताको कुरा नसुन्ने अवस्था बनेको भन्दै उनले सरकार स्वेच्छाचारी शासनतर्फ अघि बढिरहेको हो कि भन्ने प्रश्न उठेको बताए।

‘जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैंले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसद्लाई सुन्नुहुन्न, जनताको कुरा सुन्नुहुन्न,’ उनले भने, ‘यस्तो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिंड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिंड्दैछौँ भन्ने प्रश्न उठिरहेको छ।’

उनले लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने बताए। नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशासन, पञ्चायत तथा राजा ज्ञानेन्द्रको शासन अन्त्य गरेको स्मरण गर्दै उनले फेरि लोकतन्त्रको रक्षाका लागि सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको बताए।

‘जसरी हिजो नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौँ, पञ्चायतलाई परास्त गरेका छौँ, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौँ, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्न सक्ने जोखिम रहेको भन्दै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए। छिमेकी मुलुकलाई समेत आश्वस्त पार्ने गरी राष्ट्रिय हितमा साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो।

उनले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको भन्दै जलवायु न्याय नेपालको साझा राष्ट्रिय मुद्दा बन्नुपर्ने बताए।

पोखरेलले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरे पनि अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए। ठूलो संख्यामा युवा रोजगारीका लागि विदेश जान बाध्य भइरहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा बदल्न नहुने धारणा राखे।

‘इतिहासको गौरवलाई भविष्यको योजना र सङ्कल्पमा बदल्ने काम जबसम्म हामीले गर्न सक्दैनौँ, युवाहरूका सपनाहरू पूरा गर्न सकिँदैन,’ उनले भने।

उनले सूचना प्रविधिको क्रान्तिले समाजको मनोविज्ञानमा ल्याएको परिवर्तनलाई राजनीतिक दलहरूले आत्मसात् गर्नुपर्ने बताए। कांग्रेसको १५औँ महाधिवेशनले नयाँ पुस्ताका अपेक्षा र भावनालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

पोखरेलले राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोविज्ञानअनुसार आफ्ना आन्दोलन र संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने भन्दै अनुहार परिवर्तन मात्रै राजनीतिक परिवर्तनको पर्याप्त आधार नभएको दोहोर्‍याए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७