एक वर्ष घर नजाँदा फरक पर्दैन, जीवन जोखिममा नराखौँ : शंकर पोखरेल
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्राकृतिक विपद्का कारण देश शोकमा रहेका बेला एकअर्कालाई सहयोग गर्दै बडादसैँ मनाउन आग्रह गरेका छन्।
उनले दसैँ मनाउन घर जाने क्रममा जीवन जोखिममा राखेर यात्रा गर्नुभन्दा सुरक्षित स्थानमै बसेर पर्व मनाउनु उचित हुने बताएका छन्।
बडादसैँको शुभकामना सन्देश दिँदै सामाजिक सञ्जालमार्फत पोखरेलले बेमौसमी वर्षाका कारण हिमाली क्षेत्रमा हिमपहिरो, बाढी र डुबानजस्ता विपद् निम्तिएको तथा धेरै व्यक्ति बेपत्ता भएको उल्लेख गरेका छन्।
विपद्का कारण थुप्रै परिवार शोकमा रहेकाले यस कठिन समयमा एकअर्कालाई साथ दिनुपर्ने उनको भनाइ छ।
‘विपद्बाट थुप्रै परिवारहरू यतिबेला शोकमा हुनुहुन्छ। वास्तवमा हाम्रा चाडपर्व सांस्कृतिक सम्मेलनका पर्वका रूपमा छन्', उनले भनेका छन्, 'यो पीडाको समयमा हामी एकअर्काको सहयोगका रूपमा जुट्न जरुरी छ। एक वर्ष घर नजाँदा केही फरक पर्दैन, तर जीवन जोखिममा राखेर यात्रा गर्ने कुरा उचित हुँदैन।’
पोखरेलले चाडपर्वलाई रमाइलो र उत्सव मनाउने अवसरका रूपमा मात्र नलिई संकटमा परेका नागरिकलाई सहयोग गर्ने माध्यमका रूपमा पनि लिनुपर्ने बताएका छन्।
विपद्बाट विस्थापित परिवार तथा प्रभावित नागरिकलाई सहयोग गर्दै हुनेले नहुनेलाई साथ दिएर दसैँ मनाउन उनले आग्रह गरेका छन्।
उनका अनुसार दसैँ नेपाली समाजमा एकता र अनुशासनको भावना अभिवृद्धि गर्ने महत्त्वपूर्ण सांस्कृतिक पर्व हो।
परम्परागत रूपमा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यो पर्व प्रकृतिको उपासनासँग पनि जोडिएको उनले उल्लेख गरेका छन्।
महासचिव पोखरेलले जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढ्दै गएको विषयसमेत उठाएका छन्। विकसित देशहरूले अनियन्त्रित रूपमा गरेको कार्बन उत्सर्जनको असर नेपालजस्ता देशले भोग्नुपरेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय तहमा जलवायु न्यायको विषय उठिरहेको सन्दर्भमा प्राकृतिक विपद्बाट सुरक्षित रहने विषयलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
दसैँमा घर जाने क्रममा यात्रुहरूले यातायातका साधनको अवस्था, सडकको स्थिति र सवारीसाधनको क्षमताबारे जानकारी लिनुपर्नेमा पनि उनले जोड दिएका छन्।
क्षमताभन्दा बढी यात्रु राखिएका सवारीसाधन प्रयोग नगर्न र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न उनले आग्रह गरेका छन्।
‘चाडपर्वको समयमा आफ्नो गाउँबस्तीमा जाँदाखेरि पनि यातायातका साधन प्रयोग गर्दा क्षमताभन्दा बढी व्यक्ति नबस्ने, यातायातका साधनको अवस्था कस्तो छ भन्ने बुझेर यात्रा गर्ने, बाटोको अवस्थाको जानकारी लिने र असुरक्षित यात्रा नगरी जीवनलाई सुरक्षित गर्ने कुरामा पनि ध्यान दिनुपर्दछ,’ उनले भनेका छन्।
पोखरेलले सडकलाई सुरक्षित बनाउन र यात्रामा जोखिम न्यूनीकरण गर्न सम्बन्धित सरकारी निकायले पनि समयमै सडक मर्मतसम्भार गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन्।
महासचिव पोखरेलले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
.gif)

.png)



