प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत


२०८३ मङ्सिर ४ शुक्रबार १४:५७ बजे
तस्बिरः नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारतको राजकीय भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ६ र ७ गते हुने प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए ।

‘२०८३ मंसिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’ उनले भने, ‘उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि भएको छ ।’

प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै मंसिर ६ गते भारत प्रस्थान गर्नेछन् । उनी आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जाने कार्यक्रम छ ।

भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी रहनेछन् ।

प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित परियोजनाको उद्घाटन गर्ने तयारी छ । व्यापार, पारवहन, लगानी, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका विषयमा आर्थिक सहकार्यबारे छलफल हुनेछ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय :

१.२०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

२.चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट Rapid Credit Facility अन्तर्गत प्रास्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

४.नेपाल भर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नाप जाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६-२०३०) स्वीकृत गर्ने ।

६.ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ स्वीकृत गर्ने ।

७.राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७