एनपीएलमा आज दुई खेल : कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै


२०८३ कार्तिक २० शुक्रबार ०९:०६ बजे
फाइल फोटो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछन् । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् ।

दिनको पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । 

पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले त्यसपछि विराटनगर र जनकपुरलाई हराएको थियो ।

चार खेल खेलेको सुदूरपश्चिम पनि ४ अंकसहित छैटौँ स्थानमा छ । उसले चितवन र पोखरालाई हराउँदा विराटनगर र लुम्बिनीसँग हार बेहोरेको थियो । 

दुवै टोली समान अंकमा रहेकाले आजको खेल जित्दै तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछन् ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

तीन खेलबाट ३ अंक जोडेको चितवन तालिकाको सातौँ स्थानमा छ । पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको चितवनको लुम्बिनीसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । 

तेस्रो खेलमा भने चितवनले विराटनगरलाई हराउँदै पहिलो जित निकालेको थियो ।

अंक तालिकाको पुछारमा रहेको पोखराले भने अहिलेसम्म जित निकाल्न सकेको छैन । तीन खेल खेलेको पोखरा लुम्बिनी, जनकपुर र सुदूरपश्चिमसँग पराजित भएको थियो । 

आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्य पोखराको हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७