एनपीएलमा विराटनगरको खराब ब्याटिङ, काठमाण्डुलाई ८४ रनको लक्ष्य


२०८३ कार्तिक १९ बिहीबार १८:४६ बजे
तस्बिरः नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : काठमाण्डु गोर्खाजका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा विराटनगर किङ्स ८३ रनमै समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर ८३ रन बनायो ।

सुरुवातदेखि नै निरन्तर विकेट गुमाएको विराटनगरको ब्याटिङ काठमान्डुका बलरसामु टिक्न सकेन ।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

एन्जेलो म्याथ्युजले ३१ बलमा २२ र बसिर अहमदले १० रन बनाए । यी तीनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शेहान जयसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए । इमरान शेख, नारायण जोशी र शुभम रञ्जानेले खाता खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

विराटनगरका लागि पहिलो विकेटमा शेहान जयसूर्या र लोकेश बमले ११ रनको साझेदारी गरेका थिए । त्यसपछि लगातार विकेट गुमाएको विराटनगरले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो ।

त्यसपछि एन्जेलो म्याथ्युज र रुपेश सिंहले आठौँ विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स केही सम्हाले । उनीहरूबीचको साझेदारी नै विराटनगरको सबैभन्दा ठूलो साझेदारी बन्यो ।

काठमान्डुका लागि युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

सहान अराचिगेले २ ओभरमा ७ रन दिँदै २ विकेट लिए भने जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट हात पारे । कप्तान करण केसी, शाहब आलम र देव शाहले एक–एक विकेट लिए ।

एनपीएलमा विराटनगरको यो दोस्रो कम स्कोर हो । यसअघि सन् २०२५ मा भएको दोस्रो संस्करणको क्वालिफायर–१ मा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ७८ रनमा अलआउट भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७