रोहितको शतकमा क्यानडामाथि नेपालको २४ रनको जित
लिग–२ मा छैटौँ स्थानमा उक्लियो नेपाल
काठमाडौं : रोहित पौडेलको शतकीय इनिङ्स र बलरहरूको प्रभावशाली प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ ।
ओमानमा जारी प्रतियोगितामा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो। यो जितसँगै नेपाल २६ अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा २५ अंकसहित सातौँ स्थानमा झरेको छ।
नेपालको जितमा रोहितले १२६ बलमा ८ चौका र १ छक्कासहित १०१ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। उनी नेपालका लागि तीन एकदिवसीय शतक बनाउने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले पपुवा न्युगिनी र यूएईविरुद्ध शतक प्रहार गरेका थिए।
लक्ष्य पछ्याउने क्रममा क्यानडाले १० रन जोड्दा पहिलो विकेट गुमाएको थियो। युवराज सामरा १ रनमा आउट भए। त्यसपछि आरोन जोनसन र समित गोहेलले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। तर, कप्तान सन्दीप लामिछानेले आरोनलाई ४४ रनमा आउट गर्दै साझेदारी तोडे।
समितले ३५ रन बनाए भने श्रेयस मोव्वा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। अखिल कुमार ३० रनमा अविजित रहे। क्यानडाका पाँच खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई–दुई विकेट लिए।
यसअघि टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो।
नेपालको सुरुवात भने निराशाजनक रह्यो। तेस्रो ओभरसम्म १० रन जोड्दा नेपालले दुवै ओपनर गुमाएको थियो। आशिफ शेख ४ रनमा र इशान पाण्डे शून्यमा आउट भए। अर्जुन कुमालले २३ रन बनाएपछि नेपालले ५६ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो।
त्यसपछि रोहित र बसिर अहमदले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे। बसिरले ३० रन बनाए। दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भएपछि रोहितले गुलशन झासँग छैटौँ विकेटका लागि ८२ रनको महत्त्वपूर्ण साझेदारी गरे। गुलशनले ३४ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए।
रोहितले एकातिर विकेट जोगाउँदै रन गति बढाए। उनको शतकले नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्यायो। त्यसपछि करण केसी ४, नन्दन यादव र ललित राजवंशी समान २ रनमा आउट भए।
क्यानडाका अखिल कुमारले १० ओभरमा एक मेडनसहित ६८ रन खर्चेर सर्वाधिक चार विकेट लिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद श्रीजादले दुई विकेट लिए।
यस जितसँगै नेपालले लिग–२ मा ३३ खेलबाट १२औँ जित हात पारेको छ। २६ अंक जोडेको नेपालले तालिकामा आफ्नो स्थान सुधार गरेको छ।
.gif)

.png)



