बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, कुन राजमार्गको अवस्था कस्तो ?


२०८३ असोज २७ मंगलबार ०८:५७ बजे
फाइल फोटो

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। 

नेपाल प्रहरीका अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुँदा कतिपय स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने केही सडकमा आवागमन पूर्ण रूपमा बन्द भएको छ।

बागमती प्रदेशअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ खत्रीपौवामा गत असोज २१ गते पहिरो खस्दा त्रिभुवन राजपथमा यातायात प्रभावित भएको छ। उक्त सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

त्यस्तै, गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा छ।

नवलपरासीमा कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि पहिरो खसेपछि यातायात प्रभावित भएको छ। 

उक्त सडकखण्डमा साना सवारीसाधन मात्रै सञ्चालन हुन सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। ठूला सवारीसाधन भने आवागमन गर्न सक्ने अवस्थामा छैनन्।

यसैगरी, मनाङमा गत असोज १८ गते आएको बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म जाने सडकमा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

यसैबीच गोरखामा आइतबार आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा आएको बाढीले सोतीस्थित फलामे पुलमा क्षति पुर्‍याएको छ।

बाढीका कारण गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा तथा यात्रुलाई आवतजावतमा समस्या भएको छ। प्रभावित सडकखण्डमा यात्रा गर्नेहरूले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७