हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा
काठमाडौं : मनसुन बाहिरिने क्रम जारी रहँदा देशभर वर्षाको सम्भावना घटेको छ। आज मंगलबार अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली र पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने अनुमान छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा देशका बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मंगलबार राति देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना निकै कम देखिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसोपछि वा साँझपख उपत्यकाका कुनै–कुनै स्थानमा हल्का वर्षा हुने सम्भावना २० प्रतिशत मात्रै छ।
मंगलबार बिहान ५:४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ। यो प्रारम्भिक मापन भएकाले बिहान ८:४५ बजे गरिने अन्तिम तथा आधिकारिक मापनमा तापक्रम केही घट्न सक्नेछ।
मौसमविद् लामिछानेका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म रहने सम्भावना छ। सोमबार उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस मापन गरिएको थियो।
मनसुन बाहिरिने र पश्चिमी वायुको प्रभाव बढ्ने क्रमसँगै वर्षा हुने क्रम घटेको छ। देशका विभिन्न स्थानमा तापक्रम क्रमशः घट्दै जाँदा चिसो पनि बढ्न थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु र मनसुनी वायु दुवैको प्रभाव छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागबाट मनसुन बाहिरिइसकेको छ। त्यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानबाट पनि मनसुन बाहिरिएको छ।
देशका बाँकी भागमा भने मनसुन कायम रहेको महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार अब चाँडै नै देशभरबाट मनसुन पूर्ण रूपमा बाहिरिनेछ।
मनसुन पूर्ण रूपमा बाहिरिएपछि नेपालमा पोस्ट–मनसुन अर्थात् मनसुनपछिको मौसम सुरु हुन्छ। यो अवधि अक्टोबर र नोभेम्बर गरी दुई महिना रहन्छ। त्यसपछि डिसेम्बरदेखि फेब्रुअरीसम्म हिउँदको मौसम चल्छ।
हिउँद सकिएपछि मार्च १ देखि प्रि–मनसुन सुरु हुन्छ। मार्च, अप्रिल र मे गरी तीन महिना रहने प्रि–मनसुनपछि नेपालमा पुनः मनसुन प्रवेश गर्छ।
मौसमविद्हरूले नेपालको मौसमलाई प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र विन्टर गरी चार ऋतुमा वर्गीकरण गरेका छन्।
.gif)

.png)



