आइतबारदेखि मौसम खुल्ने अनुमान


२०८३ असोज २३ शुक्रबार ०७:३९ बजे
फाइल फोटो

काठमाडौं : वायुमण्डलीय अस्थिरता कायमै रहेकाले आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको छ ।

केही स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेकाले आगामी एक–दुई दिन वर्षाको सम्भावना कायम रहने देखिएको हो ।

आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यसैबीच शनिबारसम्म वर्षा जारी रहने सम्भावना रहेको  मौसमविद् डा. विनोद पोखरेलले जानकारी दिए ।

त्यसपछि केही स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश क्षेत्रमा मौसम खुल्दै जाने अनुमान गरिएको छ ।

उनका अनुसार अघिल्लो दिनको तुलनामा हिजो वर्षा केही कम भएको थियो । तर, आज वर्षाको मात्रा पुनः बढ्न सक्ने सम्भावना छ । भोलिदेखि भने वर्षा हुने स्थान र वर्षाको मात्रा दुवै घट्ने पूर्वानुमान छ ।

दशैंको घटस्थापन अर्थात् असोज २५ गतेदेखि अहिलेको तुलनामा मौसममा केही सुधार हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताएका छन् ।

मौसममा सुधार हुँदै गए पनि यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्राको योजना बनाउन उनले सुझाव दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७