दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ दल ‘नेपाल पथ’ दर्ता
काठमाडौं : मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता भएको छ। प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता गरिएको हो।
प्रसाईंले लामो समयदेखि ‘नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै आएका थिए। गत फागुनमा भएको निर्वाचनअघि उक्त अभियानलाई ‘नागरिक बचाउ दल’ नाम दिएर निर्वाचन आयोगमा दर्ता गरिएको थियो। त्यसबेला माधवप्रसाद खतिवडा दलका अध्यक्ष थिए।
अहिले सोही दलको नाम संशोधन गरी ‘नेपाल पथ दल’ कायम गरिएको खतिवडाले बताएका छन्। उनका अनुसार नाम संशोधनपछि आयोगबाट प्रमाणपत्रसमेत प्राप्त भइसकेको छ।
प्रसाईंले यसअघि राप्रपाबाट अलग भएका डा. धवलशम्शेर राणासँग सहकार्य गर्ने तयारी गरेका थिए। दुवै पक्षले मिलेर ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरे पनि केही विषयमा सहमति जुट्न नसकेपछि प्रसाईं त्यसबाट अलग भएका थिए।
अहिले धवलशम्शेर नेतृत्वको ‘जय नेपाल’ दल निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको बताइएको छ। तर, प्रसाईं नेतृत्वको ‘नेपाल पथ दल’ भने दर्ता भइसकेको छ। दलले परिवारसहितको घर चुनाव चिह्न पाएको छ। नेपाल पथ दलमा ३५१ सदस्यीय केन्द्रीय समिति रहेको बताइएको छ। प्रसाईं बाहेक अन्य पदाधिकारी भने चयन भइसकेका छैनन्।
.gif)

.png)


