हिमालयन रिइन्स्योरेन्स प्रकरणमा दीपक भट्टसहित १४ जनाविरुद्ध ३ अर्ब ४६ करोडको मुद्दा

दीपक भट्टसँग मात्रै ४५ करोड ७ लाख बिगो, बैंक तथा सम्पत्ति जफत गर्न पनि माग


२०८३ असोज २२ बिहीबार २१:१३ बजे

काठमाडौं :  हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडसँग जोडिएको बीमा रकम दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणको आरोपमा १४ जनाविरुद्ध अदालतमा मुद्दा पुगेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूबाट कुल ३ अर्ब ४६ करोड २४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।

विभागले प्रतिवादीहरूको बैंक खातामा रहेको रकम तथा उनीहरूको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ। अभियोगपत्रअनुसार कुल बिगोमध्ये १ अर्ब ६९ करोड ८४ लाख ३५ हजार ४४९ रुपैयाँ बीमा कसुर र १ अर्ब ७६ करोड ४० लाख रुपैयाँ सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित छ।

विभागको अनुसन्धान हिमालयन रिइन्स्योरेन्सले एलिएन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई गरेको भुक्तानीतर्फ केन्द्रित देखिन्छ। विभागका अनुसार विभिन्न मितिमा एलिएन्टलाई करिब २८ करोड रुपैयाँ पेस्की दिइएको थियो। त्यसमध्ये केही रकम वास्तविक कारोबारसँग सम्बन्धित नभएको र मिलेमतोमा कृत्रिम वित्तीय कारोबार सिर्जना गरेर रकम अन्यत्र प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ।

हिमालयन रिइन्स्योरेन्सले एलिएन्टमार्फत जीवन बीमा कम्पनीबाट व्यवसाय ल्याएको देखाएर २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ खर्च लेखेको विभागको दाबी छ।

अनुसन्धानका क्रममा ब्रोकर कमिसनका रूपमा प्राप्त रकम विभिन्न व्यक्तिका खातामा सारिएको, कम्पनीका नाममा सम्पत्ति खरिद गरिएको र रकमको वास्तविक स्रोत लुकाउने प्रयास भएको भेटिएको विभागले जनाएको छ।

को-को परे प्रतिवादी ?

मुद्दामा व्यवसायी दीपक भट्टसहित हिमालयन रिइन्स्योरेन्सका सञ्चालक शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुवासकुमार झुनझुनवाला, साक्षी वंशल गुप्ता, रोहित गुप्ता, राजीव मोर र शुभेच्छा खरेललाई प्रतिवादी बनाइएको छ।

कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र चन्द्रशेखर राममूर्ति तथा तत्कालीन कार्यकारी निर्देशक मनिष कुमारलाई पनि प्रतिवादी बनाइएको विभागको अभियोगपत्रमा उल्लेख छ।

एलिएन्ट इन्स्योरेन्स ब्रोकर्सकी अध्यक्ष तथा सञ्चालक अञ्जना नेपाललाई पनि प्रतिवादी बनाइएको छ। उनीमाथि बीमा कसुर र सम्पत्ति शुद्धीकरण दुवैको आरोप लगाइएको छ।

एलिएन्टकै सुधीरकुमार मल्लिक र आयुष्मा नेपाल भट्ट तथा मनोजकुमार अग्रवाल, सूर्यप्रसाद सिलवाल र फक्स ट्राभल्स एन्ड टुर्स प्रालिलाई समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइएको छ। मृदुला सरियामाथि बीमकको रकम दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोप छ।

भट्टमाथि मात्रै ४५ करोडको दाबी

विभागले दीपक भट्टसँग बीमा कसुरतर्फ २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ र सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १५ लाख रुपैयाँ बिगो मागेको छ। दुवै कसुर जोड्दा भट्टसँग मात्रै ४५ करोड ७ लाख ५ हजार ६४ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

अभियोगपत्रअनुसार बीमा व्यवसायबाट प्राप्त रकममध्ये केही रकम भट्टको कम्पनी फक्स ट्राभल्स एन्ड टुर्स प्रालिको नाममा सवारीसाधन खरिद गर्न प्रयोग गरिएको थियो।

भट्टविरुद्ध यसअघि नै २६ अर्बको मुद्दा

दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी यो पहिलो मुद्दा भने होइन। विभागले यसअघि गत जेठ २९ गते विशेष अदालतमा भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा विभागले भट्टसँग २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो। विभागको आरोपअनुसार बीमा कम्पनीलगायतबाट प्राप्त रकम दुरुपयोग गरी विभिन्न कम्पनीको सेयर खरिदमा लगानी गरिएको र गैरकानुनी स्रोतबाट आएको रकमलाई वैध देखाउने प्रयास गरिएको थियो।

भट्टविरुद्ध सेयर कारोबार तथा बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत अदालतमा पुगेका छन्। उनी हाल थुनामा रहेको बताइएको छ। यसपटकको मुद्दामा भने विभागले बीमा कम्पनीको रकम ब्रोकरमार्फत भुक्तानी, त्यसको प्रयोग र रकमको स्रोत लुकाउने प्रक्रियालाई मुख्य आधार बनाएको छ। अभियोगपत्रमा बैंकिङ कारोबार, लेखा अभिलेख, प्राप्त कागजात तथा नियामक निकायका प्रतिवेदनका आधारमा अनुसन्धान गरिएको उल्लेख छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७