मनसुन बाहिरिँदै गर्दा बढ्यो वर्षा

आज र भोलि झन् सक्रिय हुने


२०८३ असोज २० मंगलबार ०७:०८ बजे
फाइल फोटो

काठमाडौं : मनसुन नेपालबाट बाहिरिने चरणमा रहे पनि मौसममा भने वर्षाको गतिविधि बढ्ने देखिएको छ।

आज असोज २० गते देशका पहाडी तथा हिमाली भेगका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।

पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी नेपालमा कायम मनसुनी प्रणालीको प्रभावसँगै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालतर्फ भित्रिरहेकाले वर्षाको गतिविधि बढेको मौसमविद् डा. विनोद पोखरेलले बताए।

हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र वर्षाको मात्रा दुवै बढ्ने सम्भावना छ।

आगामी एक–दुई दिन वर्षाका गतिविधि जारी रहने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान केही समय वर्षा रोकिए पनि दिउँसोदेखि पुनः वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताए।

आज हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने पश्चिमी भूभागका एक–दुई स्थानमा भने खण्डित रूपमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी तीन दिनसम्म वर्षाको सम्भावना कायमै रहने महाशाखाको पूर्वानुमान छ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसैबीच काठमाडौं उपत्यकामा आज दिउँसो मध्यमसम्मको वर्षा हुनसक्ने बताइएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

पछिल्लो १२ घण्टामा कैलाली, बर्दिया र दाङका केही स्थानमा भारी वर्षा भएको छ।

सबैभन्दा धेरै कैलालीको बलियामा १००.४ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बर्दियाको दौलतपुरमा ६८.२ मिलिमिटर र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो १२ घण्टामा कर्णालीदेखि कोशी प्रदेशसम्मका विभिन्न स्थानमा वर्षा भएको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ।

यसैबीच, सोमबार दिउँसोदेखि रातिसम्म काठमाडौं उपत्यकामा समेत वर्षा भएको थियो। काठमाडौंको बबरमहलमा १२ घण्टाको अवधिमा ३० मिलिमिटर वर्षा मापन गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७