सरकारी प्रणाली ह्याक गरेर ठेक्का हत्याउने नौ ठेकेदार पक्राउ
काठमाडौं : सरकारको अनलाइन ठेक्का प्रणाली नै ह्याक गरी ठेक्का हत्याउँदै आएका आरोपमा नौ निर्माण व्यवसायी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरेको हो।
सिआइबीले यसअघि गत चैतमा यही प्रकरणमा ठेकेदार र ह्याकरसहित २२ जनाविरुद्ध मुद्दा चलाएको थियो। दोस्रो चरणको अनुसन्धानका क्रममा थप निर्माण व्यवसायी पक्राउ परेका हुन्।
अनलाइन ठेक्का प्रणालीमा ह्याकिङ गर्ने केही व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको सिआइबी प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
अनुसन्धानअनुसार ठेक्काको प्रस्ताव पेस गर्ने समय सकिएपछि प्रणाली ह्याक गरी प्रतिस्पर्धी सबैको आर्थिक प्रस्ताव हेर्ने र त्यसपछि आफ्नो प्रस्ताव संशोधन गरेर ठेक्का हात पार्ने गरिएको थियो।
यसका लागि विदेशमा रहेका ह्याकरको समेत प्रयोग गरिएको र उनीहरूलाई क्रिप्टोमार्फत रकम भुक्तानी गर्ने गरिएको यसअघिको अनुसन्धानमा खुलेको थियो।
सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजा यो प्रकरणका मुख्य योजनाकार रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनी हाल कारागारमा छन्।
.gif)

.png)


