अर्को सांसदको नाम लिएर नबोल्न सांसदलाई समितिको रुलिङ
काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा सांसदलाई छलफलका क्रममा अर्को सांसदको नाम लिएर सम्बोधन नगर्न रुलिङ गरिएको छ।
समितिको बैठकलाई मर्यादित र सुव्यवस्थित बनाउन भन्दै समिति सभापति समीक्षा बास्कोटाले सोमबार बैठक सुरु गर्दै यस्तो रुलिङ गरेकी हुन्।
‘छलफलमा व्यक्तिगत रूपमा नाम लिएर नबोलौँ। बोल्दाबोल्दै बीचमै काट्ने, अहिले नै बोल्ने जस्तो नगरौँ। बैठकलाई सुव्यवस्थित गर्ने दायित्व हामी सबैको हो,’ सभापति बास्कोटाले भनिन्।
सोमबारको बैठकमा समितिमा प्राप्त विधेयकबारे समिति सचिवले जानकारी गराउने तथा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।
समिति सचिवालयका अनुसार मेलमिलापसम्बन्धी विधेयकसँगै नेपाल कानुन आयोग ऐन संशोधन विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक पनि समितिमा दफावार छलफलका क्रममा छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ल्याएको मेलमिलापसम्बन्धी विधेयकमाथि १२ जना सांसदले ६६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
विधेयकमा मेलमिलाप प्रक्रियालाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ। महिला, दलित तथा जोखिममा रहेका पक्षको प्रतिनिधित्व र सुरक्षा सुनिश्चित गर्ने तथा डर, धाक, धम्की वा दबाबमा गरिएको मेलमिलापलाई मान्यता नदिने प्रावधानसमेत प्रस्ताव गरिएको छ।
स्थानीय तहका न्यायिक समितिलाई थप अधिकारसम्पन्न बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
यसैबीच, नेपाल कानुन आयोग ऐन (पहिलो संशोधन) विधेयक, २०८३ मा आयोगको अध्यक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई नै तोक्ने प्रस्ताव गरिएको छ।
हाल सर्वोच्च अदालतको न्यायाधीशसरह योग्यता पुगेको व्यक्ति आयोगको अध्यक्ष हुने व्यवस्था छ। प्रस्तावित व्यवस्थाअनुसार मन्त्री नै आयोगको अध्यक्ष हुनेछन्।
.gif)

.png)


