कांग्रेसले बनायो १७ बुँदे राजनीतिक आचारसंहिता
काठमाडौं : नेपाली कांग्रेसले नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कडा मापदण्ड अघि सारेको छ।
काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टीका नेता तथा कार्यकर्ताका लागि ‘के गर्ने र के नगर्ने’ भन्ने स्पष्ट सीमारेखा प्रस्ताव गरिएको छ।
प्रस्तावको खण्ड ९.७ मा समेटिएको मापदण्डअनुसार कांग्रेसले निर्वाचनपूर्व गठबन्धन नगर्ने, भ्रष्टाचारमा आरोपितलाई राजनीतिक संरक्षण नदिने र पैसा, पहुँच तथा गुटका आधारमा उम्मेदवार छनोट नगर्ने नीति अघि सारेको छ।
कांग्रेसले लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा सम्झौता नगर्ने जनाएको छ। राजनीतिक सहकार्य गर्दा स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारलाई प्राथमिकता दिने तर पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य नबनाउने प्रस्तावमा उल्लेख छ।
कांग्रेसले आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्ने नीति अघि सारेको छ। प्रस्तावमा निर्वाचनपूर्व गठबन्धन नगर्ने र आफ्नो राजनीतिक पहिचानलाई मतको अंकगणितमा निर्भर नबनाउने उल्लेख छ। आफ्नै कार्यक्रम र उम्मेदवारका आधारमा चुनाव जित्न योग्य पार्टी बन्ने कांग्रेसको प्रतिबद्धता छ।
यसैगरी भ्रष्टाचार तथा अनियमितताको आरोप लागेकाहरूको पार्टीगत बचाउ नगर्ने कांग्रेसले जनाएको छ। निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षणलाई प्रभावित नगर्ने तथा आफ्ना नेता–कार्यकर्ताका हकमा पनि एउटै नियम लागू गर्ने प्रस्तावमा उल्लेख छ।
अनुसन्धानमा राजनीतिक हस्तक्षेप नगर्ने र आरोपितलाई राजनीतिक संरक्षण नदिने कांग्रेसको नीति छ। त्यस्तै, स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्ने तथा नीतिगत निर्णयका नाममा अनुचित लाभ दिने वा छानबिनबाट उम्काउने काम नगर्ने प्रतिबद्धता गरिएको छ।
दुई वर्षको ‘कुलिङ अफ’
कांग्रेसले संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ’ अवधि लागू गर्ने प्रस्ताव गरेको छ। सार्वजनिक नियुक्तिमा योग्यता, क्षमता, इमानदारी र समावेशितालाई आधार बनाउने तथा दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबलाई नियुक्तिको आधार नबनाउने उल्लेख छ।
न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनको स्वतन्त्रता तथा क्षमता बलियो बनाउने कांग्रेसको नीति छ। यस्ता संस्थालाई दलीय नियुक्ति र भागबन्डाको क्षेत्र नबनाउने पनि प्रस्तावमा उल्लेख छ।
योग्यताका आधारमा टिकट
कांग्रेसले उम्मेदवार छनोटमा प्राइमरी, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई आधार बनाउने प्रस्ताव गरेको छ।
पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प नबनाउने तथा पदलाई पारिवारिक उत्तराधिकार वा आफ्ना व्यक्तिलाई सुरक्षित गर्ने माध्यमका रूपमा प्रयोग नगर्ने नीति अघि सारिएको छ। महिला, युवा तथा वञ्चित समुदायको नेतृत्वमा वास्तविक प्रभाव बढाउने र प्रतिनिधित्वलाई केवल संख्यामा सीमित नगर्ने प्रस्तावमा उल्लेख छ।
आय–व्यय सार्वजनिक गर्ने
कांग्रेसले आर्थिक सहयोगको स्रोत, पार्टीको आय–व्यय तथा लेखापरीक्षण सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ। आर्थिक सहयोगका बदलामा निर्णय, ठेक्का वा नियुक्तिबाट अनुचित लाभ नदिने प्रस्तावमा उल्लेख छ।
त्यस्तै, सदस्यलाई केवल निर्देशन पालना र निर्वाचन परिचालनमा सीमित नगरी नीति, नेतृत्व तथा उम्मेदवार छनोटमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने कांग्रेसले जनाएको छ।
असहमतिलाई अनुशासनहीनता नमान्ने, आलोचना सुन्ने र निष्पक्ष सुनुवाइ गर्ने नीति पनि प्रस्ताव गरिएको छ। अधिवेशन नियमित गर्ने, सदस्यताको अभिलेख विश्वसनीय बनाउने र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ।
हेर्नूहोस् कांग्रेसको आचारसंहिताः
| क्षेत्र | हामी के गर्नेछौं | हामी के गर्नेछैनौं |
| लोकतान्त्रिक मूल्य | लोकतन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा अडिनेछौँ। | सत्ता, सुविधा वा तत्कालीन लाभका लागि मूल मूल्यमा सम्झौता गर्ने छैनौं। |
| राजनीतिक सहकार्य | स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारमा सहकार्य गर्नेछौँ। | पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य बनाउने छैनौं। |
| निर्वाचन र जनविश्वास | आफ्नै पार्टीको चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्नेछौँ। | निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर बनाउने छैनौँ। |
| सार्वजनिक संवाद | तथ्य, तर्क, विकल्प र कामका आधारमा बहस गर्नेछौँ। | घृणा, अपमान, समग्र निन्दा, निराशा वा लोकरिभ्याइँलाई राजनीतिक विधि बनाउने छैनौं। |
| राज्यका संस्था | न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनको स्वतन्त्रता तथा क्षमता बलियो बनाउनेछौं। | दलीय नियुक्ति र भागबन्डाको क्षेत्र बनाउने छैनौं। |
| सार्वजनिक नियुक्ति | समावेशितासहित योग्यता, क्षमता र इमानदारीमा आधारित छनोट अघि बढाउनेछौं; संवैधानिक नियुक्तिमा दुई वर्षको कुलिङ अफको व्यवस्था अघि सार्नेछौँ। | दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबलाई नियुक्तिको आधार बनाउने छैनौँ। |
| सार्वजनिक स्रोत | सम्पत्ति, बजेट र अधिकारको उपयोग सार्वजनिक हित र नागरिक निगरानीमा गर्नेछौँ। | दल, गुट वा व्यक्तिको लाभका लागि सार्वजनिक स्रोत दुरुपयोग हुन दिने छैनौँ। |
| नीतिगत सदाचार | स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नेछौँ। | नीतिगत निर्णयको नाममा अनुचित लाभ दिने वा छानबिनबाट उम्काउने छैनौँ। |
| भ्रष्टाचार र न्याय | निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षण चल्न दिनेछौं; आफ्नै पक्षमा पनि एउटै नियम लागू गर्नेछौँ। | आरोपितको पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप गर्ने छैनौँ। |
| समावेशी अवसर | महिला, युवा र वञ्चितिकरणमा परेका समुदायको नीति तथा नेतृत्वमा वास्तविक प्रभाव बढाउनेछौँ। | प्रतिनिधित्वलाई संख्या, औपचारिकता वा सजावटमा सीमित गर्ने छैनौँ। |
| सदस्यको अधिकार | नीति, नेतृत्व र उम्मेदवार छनोटमा सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँ। | सदस्यलाई निर्देशन पालना र निर्वाचन परिचालनमा मात्र सीमित गर्ने छैनौं। |
| उम्मेदवार र जिम्मेवारी | प्राइमरी, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई छनोटको आधार बनाउनेछौँ। | पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प बनाउने छैनौं। |
| पार्टीको परिवार | योगदानको सम्मान, कठिनाइमा साथ र समान अवसरको संस्कृति बनाउनेछौं। | पदलाई पारिवारिक उत्तराधिकार वा आफ्नालाई सुरक्षित गर्ने माध्यम बनाउने छैनौँ। |
| असहमति र अनुशासन | आलोचना सुन्ने, निष्पक्ष सुनुवाइ गर्ने र गल्ती सच्याउनेछौँ। | असहमतिलाई अनुशासनहीनता र आलोचकलाई शत्रु ठान्ने छैनौँ। |
| अधिवेशन र सदस्यता | नियमित अधिवेशन, विश्वसनीय अभिलेख र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्नेछौँ। | अधिवेशन टार्न वा निर्वाचन प्रभावित पार्न अन्तिम समयमा सदस्यता दिने नियम बदल्ने छैनौँ। |
| पार्टीको वित्त | सहयोगको स्रोत, आय-व्यय र लेखापरीक्षण सार्वजनिक गर्नेछौं। | आर्थिक सहयोगको बदलामा निर्णय, ठेक्का वा नियुक्तिबाट अनुचित लाभ दिने छैनौं। |
| काम र मूल्याङ्कन | समुदायमा गरेको काम, सार्वजनिक उत्तरदायित्व र परिणामलाई सम्मान गर्नेछौं। | प्रचार, व्यक्तिगत छवि वा गुटको सेवाबाट वास्तविक योगदान छोप्ने छैनौं। |
.gif)

.png)


