कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु : राजनीतिक प्रस्तावदेखि विधान संशोधनसम्म छलफल
काठमाडौं : नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनअघि कांग्रेसले पार्टीको आगामी कार्यदिशा, विधान संशोधन र समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेको हो।
बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीनवटा क्लस्टरमा विभाजन गरिएको छ। सुरुवातमा पहाड क्लस्टरको बन्दसत्र सञ्चालन गरिएको छ। बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ।
प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्।
यसैगरी पहाड हलमा बागमतीका १ हजार २१७ र लुम्बिनीका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि छन्। तराई–मधेस हलमा मधेशका १ हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले पेश गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक प्रस्तावमाथि छलफल हुनेछ।
यसअघि बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले यी प्रस्तावहरू पारित गरी बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो। प्रवक्ता देवराज चालिसेका अनुसार गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो।
सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसको कार्यदिशा, सरकार सञ्चालन, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको छ।
लोकतान्त्रिक संस्थालाई सबल बनाउनु आगामी दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मूल सिद्धान्तका रूपमा अघि सारेको छ।
कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने प्रस्तावसमेत अघि सारेको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा प्रस्तावमा समेटिएको चालिसेले बताए।
त्यस्तै, महामन्त्री पौडेलले पेश गरेको प्रस्तावमा पार्टीको निर्णय प्रक्रिया, संगठन सञ्चालन तथा विभिन्न तहमा जिम्मेवारी र संरचना व्यवस्थित गर्ने विषय समेटिएका छन्। नयाँ विधानको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ।
तर, उक्त संरचना अन्तिम नभएको कांग्रेसले जनाएको छ। प्रवक्ता चालिसेका अनुसार अहिले अघि सारिएको खाका प्रारम्भिक प्रस्ताव मात्रै हो। बन्दसत्रमा प्रस्तावमाथि छलफल भई प्रतिनिधिहरूले पारित गरेपछि मात्रै त्यसले अन्तिम रूप पाउनेछ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी चार वर्षको राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई अन्तिम रूप दिने विषय मुख्य एजेन्डा बनेको छ।
.gif)

.png)


