कांग्रेसमा पदाधिकारी थपिँदै
उपसभापति र महामन्त्री बढाउने तयारी
काठमाडौं : नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट पार्टीको पदाधिकारी संख्या बढाउने तयारी गरेको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन समितिले पदाधिकारी संख्या बढाउने प्रस्तावमाथि छलफल गरिरहेको छ। महाधिवेशनको बन्दसत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी छ।
कांग्रेसका एक पदाधिकारीका अनुसार उपसभापति र महामन्त्री एक–एक जना थप्ने विषयमा सहमति नजिक पुगेको छ। त्यस्तै, सहमहामन्त्रीको संख्या पनि बढाउने विषयमा छलफल भइरहेको छ। सहमहामन्त्रीको संख्या भने अझै टुंगो लागिसकेको छैन।
ती पदाधिकारीका अनुसार नेताहरूको व्यवस्थापनका लागि सहमहामन्त्रीको संख्या ४ देखि ५ जनासम्म थपिन सक्ने सम्भावना छ। हाल कांग्रेसको विधानअनुसार सभापति १, उपसभापति २, महामन्त्री २ र विभिन्न क्लस्टरबाट सहमहामन्त्री ८ जना रहने व्यवस्था छ।
प्रवक्ता देवराज चालिसेले पनि पार्टीको आवश्यकताअनुसार विधान संशोधनको अधिकार महाधिवेशनलाई रहेको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा भोलिबाट सुरु हुँदैछ। महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेस भएपछि पदाधिकारीको नयाँ संरचनाबारे औपचारिक निर्णय हुनेछ।
.gif)

.png)


