चाडपर्वमा प्रहरीको विशेष सुरक्षा योजना

ड्रोनदेखि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन


२०८३ असोज १६ शुक्रबार १८:२६ बजे

काठमाडौं : बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले ३ हजार ५०६ सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षा सुनिश्चित गरिने बताए। प्रहरीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सुरक्षा तयारीको बारेमा जानकारी दिएको हो। 

असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्म विशेष सुरक्षा योजना लागू गरिने परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए। उनले आवश्यकताअनुसार थप १९० जना सुरक्षाकर्मीको रिजर्भ टोलीसमेत परिचालन गरिने समेत बताए। 

विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसिटिभी क्यामेरा र तीनवटा ड्रोनमार्फत निगरानी गरिनेछ।

काठमाडौंका प्रमुख नाका तथा भिडभाड हुने संवेदनशील क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको K-9 टोली परिचालन गरी नियमित ‘डग स्निफिङ’ गरिनेछ। सामाजिक सञ्जालमार्फत हुने ठगी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि परिसरमा छुट्टै डेस्कसमेत सक्रिय रहनेछ।

अत्यावश्यक सूचना प्रवाहका लागि १० स्थानमा ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ सञ्चालन गरिने प्रहरीले जनाएको छ। घटना भएको सूचना प्राप्त भएको ५ देखि १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्थापन मिलाइएको थापाले बताए।

प्रहरीले पीपीईआई (Promotional, Preventive, Enforcement, Innovation) मोडलमा आधारित सुरक्षा रणनीति लागू गर्ने त्यस अवसरमा जानकारी दिएको थियो। मोबाइल तथा पैदल गस्ती, क्युआरटी, सीआरभी, सादा पोसाकका प्रहरी परिचालन, सीमा नाकामा चेकजाँच तथा ट्राफिकसहितको संयुक्त चेकिङ गरिने बताइएको छ। 

मन्दिर, खसी बजार, सपिङ मल, वित्तीय संस्था तथा एटिएम बुथमा समेत विशेष सुरक्षा ड्युटी खटाइनेछ।

चाडपर्वमा यात्रुको सहज आवतजावतका लागि काठमाडौंका प्रमुख १४ स्थानमा यात्रु सहायता तथा हेल्प डेस्क स्थापना गरिने बताइको छ।

कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बिजी मल अगाडि, बल्खु, सुरुङ मार्ग, नागढुंगा, बालाजु बाइपास, बालाजु चोक, सीतापाइला, जोरपाटी र चाबहिल चोकमा हेल्प डेस्क रहनेछन्। 

साथै २५ वटा सामुदायिक सेवा केन्द्रमार्फत पनि नागरिकलाई सहायता उपलब्ध गराइनेछ।

प्रहरीले चाडपर्वका बेला घर छाडेर गाउँ जाने नागरिकलाई घरको ढोका–झ्याल सुरक्षित रूपमा बन्द गर्न तथा विश्वसनीय छिमेकी वा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

साथै बहुमूल्य गरगहना, नगद तथा महत्त्वपूर्ण कागजात घरमा नराखी बैंकको लकरमा सुरक्षित राख्न समेत प्रहरीले सुझाव दिएको छ।

त्यसैगरी जुवा, तास तथा लङ्गुरबुर्जा खेल्ने–खेलाउने, पटका तथा आतसबाजीजस्ता प्रज्वलनशील वस्तुको प्रयोग नगर्न र मादक पदार्थ सेवन गरी सवारी नचलाउन प्रहरीले आग्रह गरेको छ।

सामाजिक सञ्जालमा आउने ‘लक्की अफर’, ‘उपहार जितियो’ वा ‘छिटो कमाइ’ जस्ता प्रलोभनबाट हुने ठगीप्रति सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ।

कुनै शंकास्पद गतिविधि देखिएमा वा समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न प्रहरीले आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७