निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न संसदीय समिति गठन


२०८३ असोज १६ शुक्रबार १२:४० बजे
फाइल फोटो

काठमाडौं : निर्वाचन प्रहरीका लागि पोसाक खरिदसम्बन्धी प्रकरणको अध्ययन गर्न संसद्को सार्वजनिक लेखा समितिले नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ।

लेखा समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको नेतृत्वमा समिति गठन गरेको हो। समितिका सदस्यहरूमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

अध्ययन समितिले दुई महिनाभित्र अध्ययन गरी लेखा समितिमा प्रतिवेदन बुझाउनुपर्नेछ।

निर्वाचन प्रहरीका लागि कपडा खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि लेखा समितिमा यस विषयमा छानबिन वा अध्ययन समिति गठन गर्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो।

बैठकमा सांसद खगेन्द्र सुनारले अनियमितताको प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएका थिए। सम्बन्धित कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिए पनि फाइल प्राप्त भए–नभएको जानकारीसमेत समितिका सदस्यलाई नदिइएको उनले बताए।

रास्वपाकी प्रमुख सचेतक खुश्बु ओलीले भने छानबिनअघि सम्बन्धित तथ्य, आधार र प्रतिवेदन अध्ययन गर्नुपर्ने धारणा राखिन्। सामाजिक सञ्जालमा आएका वा सुनेका कुराका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने उनको भनाइ थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकले समितिमा राखेका धारणा तथा सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदनसमेत अध्ययन गरेर मात्रै थप अनुसन्धान आवश्यक छ कि छैन भन्ने निर्णय गर्नुपर्ने ओलीले बताइन्।

यसैगरी एमाले सांसद ऐन महरले उठेका प्रश्नको निरूपण गर्न आवश्यक रहेको भन्दै अध्ययन समिति गठनको प्रस्तावमा समर्थन जनाए। प्रहरीजस्तो गरिमामय संस्थामाथि प्रश्न उठिसकेपछि त्यसलाई यत्तिकै छाड्दा संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा असर पर्न सक्ने उनको भनाइ थियो।

महरले तत्काल ‘छानबिन समिति’ भन्दा ‘अध्ययन तथा अन्वेषण समिति’ गठन गरेर उठेका प्रश्नलाई सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने प्रस्ताव गरेका थिए। उनले मनिष झाको संयोजकत्वमा तीन वा पाँच सदस्यीय समिति गठन गरी सातदेखि १५ दिनभित्र प्रतिवेदन बुझाउन प्रस्ताव गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७