घाइते क्याप्टेन मच्छरको बयान, ‘छुरा प्रहारपछि पनि यात्रु बचाउन अन्तिम क्षणसम्म लडेँ’


२०८३ असोज १६ शुक्रबार १९:११ बजे

काठमाडौं : फ्लाईदुबईको विमानमा आफ्नै सह–पाइलटबाट छुरा प्रहारमा परेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरले घाइते अवस्थामै विमानमा सवार १७० भन्दा बढी यात्रुको ज्यान जोगाउन अन्तिम क्षणसम्म प्रयास गरेको बताएका छन्।

बुधबार बिहान दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको एफजेड१०७३ विमानमा सह–पाइलटले मच्छरमाथि छुरा प्रहार गरेका थिए। आक्रमणपछि विमान १७ हजार फिटभन्दा बढी तल झरेको थियो।

उक्त घटनापछि उनको विश्वव्यापी रूपमा प्रशंसा भएरहेको छ। यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो संवादमा क्याप्टेन मच्छरले आफू घाइते भएर ककपिटको भुइँमा लडिरहेको अवस्थामा समेत यात्रुलाई बचाउनुपर्ने जिम्मेवारी महसुस गरेको बताए।

‘म घाइते भएर भुइँमा लडिरहेको थिएँ । तर आफूलाई भनेँ– अन्तिमपटक जोड लगाएर भित्रबाट ढोका खोल्नुपर्छ,’ उनले मोदीसँग भने।

त्यसपछि अन्य मानिस ककपिटभित्र प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेको उनले बताए। मच्छरले भने, ‘म आफ्नो जीवनका लागि पनि संघर्ष गरिरहेको थिएँ । तर त्यही समयमा मैले अरूलाई मर्न दिन्नँ भन्ने कुरा थाहा थियो।’

आक्रमणपछि विमानले हवाई ट्राफिक कन्ट्रोललाई आपत्कालीन संकेत पठाएको थियो। त्यसपछि ट्रान्सपोन्डरमा ‘स्क्वाक ७५००’ कोड सेट गरिएको थियो, जसले विमान अपहरण भएको संकेत गर्छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक पाइलटले अर्का पाइलटमाथि छुरा प्रहार गरेको र विमानलाई दुर्घटनाग्रस्त गराउन खोजेको बताएका छन्।

यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि दुई वैकल्पिक पाइलटले विमानलाई साउदी अरबको उत्तर–पश्चिममा रहेको तबुक विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए। विमान स्थानीय समयअनुसार बिहान ६ः५८ बजे तबुकमा अवतरण गरेको थियो।

आक्रमणपछि क्याप्टेन मच्छरलाई तबुकको अस्पताल लगिएको थियो। पछि उनलाई हवाईमार्गबाट संयुक्त अरब इमिरेट्सको अबुधाबी लगिएको हो।

उनको अवस्था स्थिर रहेको र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ। प्रधानमन्त्री नेतन्याहूले मच्छरलाई ‘रियल हिरो’ भन्दै प्रशंसा गरेका छन्।

नेतन्याहूका अनुसार आक्रमणकारी ओमानका नागरिक थिए र उनी ‘कट्टरपन्थी इस्लामवादी विचारधाराबाट प्रभावित’ भएको अनुसन्धानबाट देखिएको छ। 

यद्यपि यूएईको सरकारी समाचार एजेन्सीका अनुसार घटनामा आतंकवादी गतिविधि वा उद्देश्य जोडिएको थियो कि थिएन भन्नेबारे अनुसन्धान जारी छ।

मोदीसँगको कुराकानीमा मच्छरले आफूले विगत १७ वर्षदेखि विमान उडाउँदै आएको बताएका छन्। ‘मलाई विमानका बारेमा आँखा बन्द गरेर पनि के भइरहेको छ भन्ने थाहा हुन्छ,’ उनले भने।

मोदीले मच्छरको साहस, धैर्य र तत्काल निर्णय लिन सक्ने क्षमताले धेरै मानिसको ज्यान जोगाएको बताएका छन्। मच्छरले आफ्नो चोटलाई घाउका रूपमा नहेरेको बताएका छन्।

‘म यसलाई घाउका रूपमा हेरिरहेको छैन, किनकि त्यसरी हेर्दा मेरो स्वास्थ्यलाभ अझ कठिन हुनेछ’, उनले भने ‘ म यसलाई एउटा यात्राका रूपमा हेरिरहेको छु, जुन बिस्तारै अघि बढिरहेको छ र समय लाग्नेछ । तर म पूर्ण रूपमा निको भएर फेरि स्वस्थ र फिट हुनेमा विश्वस्त छु।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७