जमादार ग्रुपको चामलमा ९६ करोड लगानी : दैनिक २८८ टन धान प्रशोधन गरिने


२०८३ असोज १६ शुक्रबार १८:०२ बजे

काठमाडौं : नवलपरासीमा करिब १ अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक चामल प्रशोधन उद्योग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।

जमादार ग्रुपअन्तर्गतको जमादार एग्रो फुड प्रोडक्ट्स प्रालिले रामग्राम–१२, हकुईमा निर्माण गरिरहेको उद्योगमा कुल ९६ करोड रुपैयाँ लगानी हुने भएको छ। प्रतिघण्टा १२ मेट्रिक टन धान प्रशोधन गर्न सक्ने क्षमता उद्योगको रहेको छ।

उद्योगको निर्माणमा ७२ करोड रुपैयाँ बैंक ऋण र २४ करोड रुपैयाँ प्रवर्द्धकको स्वपुँजी लगानी हुने बताइएको। आयोजनाको वित्तीय व्यवस्थापन पूरा भइसकेको कम्पनीले जनाएको छ। ५ सेप्टेम्बर २०२६ सम्म आयोजनाको करिब ८८ प्रतिशत वित्तीय प्रगति भएको उद्योगले जानकारी दिएको छ।

कम्पनीले उद्योग निर्माणका लागि लिएको ७२ करोड रुपैयाँ सावधिक कर्जाबाहेक सञ्चालनका लागि १ अर्ब ३० करोड रुपैयाँसम्मको अल्पकालीन बैंकिङ सुविधा पाएको छ। सावधिक कर्जा र कार्यशील पुँजीसहित कम्पनीको कुल बैंकिङ सुविधा २ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

उद्योगका लागि नवलपरासी रोज्नुको प्रमुख कारण कच्चा पदार्थको उपलब्धता र बजार पहुँच रहेको कम्पनीले जनाएको छ। उद्योग रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पालगायत धान उत्पादन हुने क्षेत्रको नजिक समेत रहेको छ।

यसका कारण स्थानीय तथा आसपासका जिल्लाबाट धान संकलन गरी प्रशोधन गर्न सहज हुने अपेक्षा गरिएको छ। उद्योग सञ्चालनमा आएपछि ठूलो परिमाणमा धान खरिद तथा प्रशोधन गर्ने भएकाले स्थानीय कृषि उत्पादनलाई औद्योगिक बजारसँग जोड्ने आधारसमेत बन्ने अपेक्षा गरिएको छ।

रामग्राममा रहेको उद्योग भारतीय सीमा सुनौलीबाट करिब तीन किलोमिटरको दूरीमा अवस्थित छ। बुटवललगायत पश्चिम नेपालका प्रमुख बजारसँग सडक पहुँच तथा लुम्बिनी औद्योगिक करिडोरको निकटताले कच्चा पदार्थ ओसारपसार र तयार चामलको बजार विस्तारमा सहज हुने अपेक्षा गरिएको छ।

खाद्यान्न, खुद्रा व्यापार तथा उत्पादन क्षेत्रमा लामो अनुभव रहेको जमादार ग्रुपले नयाँ उद्योगमार्फत कृषि प्रशोधन क्षेत्रमा लगानी विस्तार गरेको हो।

ग्रुपका संस्थापक कृष्णकुमार गुप्ता (अग्रवाल) तथा हाल नेतृत्व गरिरहेका अमित अग्रवालको नेतृत्वमा समूहले ‘स्वदेशी सुपरमार्केट’ र जमादार फुड्समार्फत खाद्यान्न तथा नेपाली उत्पादनको बजारमा उपस्थिति बनाउँदै आएको छ।

चामल उद्योग सञ्चालनमा आएपछि समूहले खाद्यान्नको व्यापारसँगै उत्पादन र प्रशोधनलाई पनि आफ्नो व्यवसायिक सञ्जालमा जोड्नेछ। उत्पादनदेखि वितरणसम्मको नेटवर्क विस्तार गर्ने अवसर समूहलाई मिल्ने अपेक्षा गरिएको छ।

नेपालमा चामलको बजार ठूलो भए पनि उद्योगको उल्लेख्य हिस्सा अझै परम्परागत मिल तथा साना प्रशोधन केन्द्रमा आधारित छ। आधुनिक प्रविधि र ठूलो प्रशोधन क्षमताको उद्योग थपिँदा चामल उत्पादन, प्याकेजिङ र वितरण प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

ठूलो प्रशोधन क्षमता सँगै धान खरिदको लागत, गुणस्तर, भण्डारण, ब्रान्डिङ, प्याकेजिङ, वितरण सञ्जाल र बजार मूल्यले उद्योगको प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्नेछ।

उद्योग सञ्चालनमा आएपछि नवलपरासी तथा आसपासका धान उत्पादन क्षेत्रबाट ठूलो परिमाणमा कच्चा पदार्थ खरिद हुने सम्भावना छ। यसले स्थानीय धानको बजार विस्तारसँगै किसान, प्रशोधन उद्योग र उपभोक्ता बजारबीचको आपूर्ति शृंखलालाई थप जोड्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७