नापी सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
४ करोड ७४ लाख ४६ हजार रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार श्रेष्ठ र उनको एकाघर परिवारको वैधानिक आय ७ करोड ७५ लाख ७८ हजार रुपैयाँभन्दा बढी रहे पनि सोही अवधिमा १२ करोड ५० लाख २५ हजार रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको पाइएको छ।
जग्गा, घर, शेयर, सवारीसाधन, अध्ययन, ऋण तथा सापटीलगायतमा भएको खर्चको स्रोत पुष्टि हुन नसकेको आयोगको दाबी छ। अख्तियारले श्रेष्ठविरुद्ध स्रोत नखुलेको रकम बराबर बिगो कायम गरी कैद, जरिवाना तथा सम्पत्ति जफतको मागदाबी गरेको छ।
झुट्टा विवरण दिएको आरोपमा समेत छुट्टै कसुर कायम गरिएको छ।
स्रोत नखुलेको सम्पत्ति श्रीमती कमला श्रेष्ठको नाममा समेत रहेको भन्दै उनलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
दुवैविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
.gif)

.png)


