गृहमन्त्री गुरुङको चेतावनी : जेनजी आन्दोलनको इतिहास बदल्ने प्रयास नगर्नुस्
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई लिएर अपमानजनक टिप्पणी नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन्। जेनजी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले जेनजी आन्दोलनको अपमान गर्नु आन्दोलनमा समर्थन जनाउने ३ करोड नेपाली जनताको अपमान हुने दाबी गरेका हुन्।
उनले जेनजी आन्दोलनलाई इतिहासको महत्त्वपूर्ण घटना भन्दै यसको व्याख्या आफू अनुकूल ढंगले परिवर्तन गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई आग्रह गरे। ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने। गुरुङले जेनजी आन्दोलनको इतिहास प्रमाणित गर्न आफूहरूलाई जनताले निर्वाचित गरेर पठाएको दाबी गरे। आन्दोलनलाई अपमान गर्ने प्रयास भइरहेको भन्दै उनले पुरानो राजनीतिक सोच परिवर्तन गर्नसमेत आग्रह गरे।
‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ,’ उनले भने, ‘अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन।’ उनले जेनजी आन्दोलनका क्रममा युवाहरू सुशासनको मागसहित सडकमा उत्रिएको र सरकारले उनीहरूमाथि गोली चलाएको बताए। आन्दोलनका माग सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
गुरुङले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले देशमा सुशासन कायम गर्ने उद्देश्यले आफूहरूलाई अगाडि सारेको दाबी गरे। आफूहरूलाई सत्ता र शक्तिको लोभ नरहेको बताउँदै उनले मन्त्रीका रूपमा काम गर्दा निरन्तर आत्म समीक्षा गरिरहेको बताए। ‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा,’ उनले भने, ‘म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिराख्नुभएको छ।’
.gif)

.png)

