भारतीय गाडी समातेपछि एसपीलाई थर्काउने कञ्चनपुर भन्सार अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए
काठमाडौं : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग भएको विवादबारे थप अध्ययन तथा बुझाइ आवश्यक रहेको भन्दै भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएको हो।
विभागले भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ। विवादसँग सम्बन्धित विवरण तथा सार्वजनिक भएको अडियोबारे थप अध्ययन गर्नुपर्ने भएकाले घटनाका सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
यसअघि भन्सार पास भएर आएको भनिएको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भन्सार अधिकृत भट्ट र एसपी केसीबीच विवाद भएको थियो। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडी तत्काल नछोडेको भन्दै भट्टले गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई फोन गर्ने भन्दै दबाब दिएको भनिएको अडियो सार्वजनिक भएको थियो।
सार्वजनिक अडियोमा भट्टले एसपी केसीसँग आक्रोशपूर्ण ढंगले कुरा गरेको सुनिन्छ। उक्त अडियो र घटनाको वास्तविकता तथा जिम्मेवारीबारे थप अध्ययन भइरहेको विभागले जनाएको छ।
.gif)

.png)


