बाढीपहिरोले सडक सञ्जाल अस्तव्यस्त
विभिन्न सडकमा आवागमन रोकियो
काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ।
प्रमुख राजमार्ग तथा भित्री सडक खण्डमा पहिरो खस्नुका साथै बाढीले सडक अवरुद्ध गरेपछि कतिपय स्थानमा पूर्णरूपमा यातायात ठप्प भएको छ।
ललितपुरको कान्तिलोकपथ सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–३ को भट्टेडाँडा, पाङदुर र टाकुर्च क्षेत्रमा पहिरो गएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत गर्न सकेका छैनन्।
यसैगरी खोटाङको हलेसीतुवाचुङ नगरपालिका–१ कदुवामा मध्यपहाडी सडक बाढी तथा पहिरोका कारण अवरुद्ध भएको छ।
पाँचथरमा पनि बाढी र पहिरोले प्रमुख सडक प्रभावित भएको छ। तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोलामा तमोर करिडोर तथा याङवरक गाउँपालिका–२ को दोभाने खोलामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
वर्षाका कारण कोशी प्रदेशका अन्य जिल्लामा समेत सडक सुरक्षालाई लिएर सतर्कता बढाइएको छ। सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ, उदयपुरलगायत जिल्लाका विभिन्न राजमार्ग तथा सडकखण्डमा बाढी र पहिरोको जोखिम बढेको छ।
सम्भावित दुर्घटना तथा थप क्षति रोक्न जोखिमयुक्त सडकमा निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। विशेषगरी रातिको समयमा जोखिमयुक्त सडकखण्डमा आवागमन नियन्त्रण गरिएको छ।
लगातारको वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन तथा जोखिमयुक्त क्षेत्रमा क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले आवश्यक तयारी गरिरहेका छन्। सडकको अवस्था यकिन नभएका क्षेत्रमा यात्रुलाई सावधानी अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनाअनुसार मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

.gif)

.png)


