तिनाउको बाढीले बुटवलका पाँच घर बगे
पूर्वसूचनाले जोगायो सयौँको ज्यान
बुटवल : लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमजुवामा पाँच घर बगाएको छ।
नदीमा पानीको सतह बढ्न थालेपछि जोखिम क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति भने हुन पाएन।
शनिबार दिउँसोदेखि तिनाउको बहाव बढ्दै गएपछि बुटवलका नदी किनारमा रहेका बिनापाते, बुद्धनगर, मजुवा र टपमजुवा क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायले जोखिम बढेपछि सर्वसाधारणलाई घरबाट बाहिर निकालेर नजिकका विद्यालय तथा मन्दिरमा राखेका थिए।
बुटवल–११ टपमजुवामा बाढीले सकिल मिया, नरेन्द्र दर्जी, अब्दुल अली, गफारदिन मिया र दुर्गादिन बनियाको घर पूर्णरूपमा क्षति पुर्याएको पीडित नरेन्द्र दर्जीले जानकारी दिए।
दुईवटा खाली घडेरीसमेत बाढीले बगाएको उनले बताए।
नदीको बहाव बढेपछि रातभर जोखिममा रहेका स्थानीयको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणमा जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएको वडा सदस्य नकुल शाहले जानकारी दिए।
जोखिम क्षेत्रका बासिन्दालाई नबीन स्कुल, उजिर सिंह माध्यमिक विद्यालय, जितगढीस्थित मन्दिरलगायतका सुरक्षित स्थानमा सारिएको थियो।
पूर्वसूचनाका आधारमा नदी किनारमा रहेका सयौँ स्थानीयलाई समयमै स्थानान्तरण गरिएकाले बाढीले घरमा क्षति पुर्याए पनि मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ।
शनिबार साँझदेखि तिनाउको पानीको सतह थप बढेपछि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, उपमेयर सावित्रा अर्याल, वडाध्यक्ष तथा वडा सदस्यलगायत जनप्रतिनिधिले जोखिम क्षेत्रको स्थलगत अनुगमन गरेका थिए।
उनीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रहसमेत गरेका थिए। बाढीको जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको टोली विभिन्न स्थानमा परिचालन गरिएको थियो।
यता पाल्पाका विभिन्न क्षेत्रमा पानीको बहाव निरन्तर बढेपछि तिनाउको तल्लो तटीय क्षेत्रमा त्रास सिर्जना भएको थियो।
पानी बढ्दा केही समय जोखिमको अवस्था देखिए पनि पछिल्लो समय ठूलो खतरा नरहेको स्थानीय आशिष सूर्यवंशीले जानकारी दिए।
प्रहरी र स्थानीयका अनुसार अहिले तिनाउमा पानीको सतह घट्दै गएको छ। यद्यपि नदी किनारका बस्तीमा थप जोखिम हुन सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
.gif)

.png)


