बाढीपहिरोको जोखिमले चार जिल्लाका सडक प्रभावित


२०८३ असोज ७ बुधबार ०७:४५ बजे
फाइल फोटो

काठमाडौं : लगातारको वर्षासँगै देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा बाढी र पहिरोको जोखिम बढेको छ। नेपाल प्रहरीले काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्डमा अवरोध तथा जोखिम देखिएको जनाएको छ।

काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले असोज ६ गते साँझदेखि बिहानसम्मको अवस्था हेरेर सवारी सञ्चालन गरिने जनाएको छ।

रसुवामा भने मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नुवाकोटको टोक्खा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८, घेचेटखोला क्षेत्रमा पनि बाढी तथा पहिरोको जोखिम रहेको छ। जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१०, सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, ज्वाङखोला र शीतलबजार क्षेत्रमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ।

प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र बाढी, पहिरो तथा अन्य जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७