मिर्मी पुल बगाएसँगै रिडी बजार डुबानमा

गुल्मीमा यातायात र विद्युत् प्रभावित


२०८३ असोज ११ आइतबार ०८:०९ बजे
पुल बगाउनुअघिको अवस्था

गुल्मी : कालीगण्डकी नदीमा आएको भीषण बाढीले गुल्मी र स्याङ्जा जोड्ने मिर्मी पुल बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्कविच्छेद भएको छ। 

पुल बगेपछि गुल्मीको सदरमुकाम तम्घासबाट मिर्मी हुँदै पोखरा र काठमाडौं जाने मुख्य सडकसमेत प्रभावित भएको छ।

शनिबार बिहान करिब ६ बजेतिर कालीगण्डकी नदीमा आएको ठूलो बाढीले मिर्मी पुल बगाएको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका वडाध्यक्ष लालुप्रसाद पाण्डेले बताए। 

मिर्मीबाट स्याङ्जातर्फ जोडिने अन्य वैकल्पिक सडक नरहेकाले पुल बगेपछि दुई जिल्लाबीचको नियमित आवतजावत प्रभावित भएको वडाध्यक्ष पाण्डेले बताए। गुल्मीको सदरमुकाम तम्घासबाट साना तथा ठूला सवारीसाधन मिर्मी हुँदै पोखरा र काठमाडौं जाने मार्गसमेत बन्द भएको उनले बताए।

जिल्लाको महत्वपूर्ण नाका जोड्ने पुल नै बाढीले बगाएपछि गुल्मी र स्याङ्जा दुवैतर्फका स्थानीय प्रभावित भएका छन्। दैनिक आवतजावत, यातायात तथा मालसामान ओसारपसारमा समेत समस्या सिर्जना भएको छ।

यसैबीच कालीगण्डकी आयोजनातर्फ शनिबारदेखि नै तीनवटा ढोका खोलिएको बताइएको छ। तर नदीमा पानीको बहाव अत्यन्त ठूलो रहेकाले जोखिम अझै कायम रहेको वडाध्यक्ष पाण्डेले जानकारी दिए।

मिर्मी ड्याममाथि पूर्तिघाटतर्फ समेत पानीको बहाव ठूलो रहेको जानकारी आएको छ। नदीको बहाव बढिरहेकाले आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

यसैगरी कालीगण्डकी नदीको बाढीले गुल्मीको रिडी बजारसमेत जलमग्न भएको छ। नदीले जलसतह पार गरेपछि रुरुक्षेत्र गाउँपालिका–१ को रिडी लामाचौरपारी तथा बजार आसपासका सडक डुबानमा परेका छन्। कालीगण्डकी करिडोरका विभिन्न भागमा समेत बाढी पसेको छ।

बगर क्षेत्रमा निर्माण गरिएका पक्की संरचना, मन्दिर, घाटलगायतका संरचनासमेत बाढीको पानीमा डुबेको  रिडीका व्यवसायी रविलाल पन्थले जानकारी दिए।

बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा थप क्षतिको विवरण संकलन गर्ने कामसमेत प्रभावित भएको छ। जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएकाले सञ्चार तथा घटनाको विस्तृत विवरण संकलनमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको  छ।

कालीगण्डकी नदीको बहाव र आसपासका क्षेत्रमा देखिएको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्भावित जोखिममा रहेका बस्तीमा निगरानी बढाएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७