आजदेखि सोह्रश्राद्ध सुरु
काठमाडौं : हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक परम्परा पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि सुरु भएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहने यस अवधिमा दिवंगत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा छ। पितृपक्षका क्रममा आफ्ना दिवंगत आफन्तको मृत्यु भएको तिथिअनुसार श्राद्ध गर्ने गरिन्छ।
सोह्रवटा तिथिमा पितृलाई श्रद्धापूर्वक सम्झिएर पितृकार्य गरिने भएकाले नेपाली समाजमा यसलाई ‘सोह्रश्राद्ध’ भन्ने गरिएको हो।
हिन्दू परम्परामा चाडपर्व, यज्ञयज्ञादि तथा अन्य महत्त्वपूर्ण धार्मिक कार्य गर्नुअघि आफ्ना दिवंगत पितृलाई श्रद्धापूर्वक सम्झने चलन रहिआएको छ।
बडादशैं र तिहारजस्ता ठूला पर्वअघि पर्ने पितृपक्षले सन्तानलाई आफ्ना पितृप्रतिको दायित्व सम्झाउने धार्मिक अवसरका रूपमा समेत लिइन्छ।
पितृपक्ष सुरु भएसँगै काठमाडौंको पशुपति क्षेत्रलगायत विभिन्न तीर्थस्थलमा दिवंगत आफन्तको सम्झनामा तर्पण तथा पिण्डदान गर्न जाने श्रद्धालुको चहलपहलसमेत बढ्ने गरेको छ।
धार्मिक परम्पराअनुसार प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औंसी र पूर्णिमा गरी विभिन्न तिथिमा पितृको श्राद्ध तथा तर्पण गर्ने विधान छ।
कुन पितृको श्राद्ध कुन दिन गर्ने भन्ने कुरा उहाँको मृत्यु भएको समयको तिथिका आधारमा निर्धारण गरिन्छ। सोही तिथिमा पितृलाई तर्पण, पिण्डदान तथा भोजन अर्पण गर्ने परम्परा छ।
आफ्ना परिजनको मृत्यु भएको तिथि थाहा नभएका व्यक्तिले भने पितृपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा औंसीका दिन श्राद्ध गर्ने चलन रहेको धार्मिक मान्यता छ।
श्राद्धका क्रममा पितृको नाममा पवित्र जल अर्पण गर्ने कार्यलाई तर्पण भनिन्छ। तर्पण गर्दा पवित्र जलसँगै कुश, जौ, तिल, फूल, चन्दनलगायत सामग्री प्रयोग गर्ने परम्परा छ।
त्यस्तै, पिण्डदानका क्रममा गाईको दूध तथा खिरबाट बनाइएका पिण्डलगायत सामग्री प्रयोग गरी गुरु–पुरोहितको निर्देशनअनुसार पितृलाई अर्पण गर्ने गरिन्छ।
हिन्दू धार्मिक ग्रन्थहरूमा पितृपक्ष तथा श्राद्धको महत्त्वबारे विभिन्न प्रसंग उल्लेख गरिएको पाइन्छ। गरुड पुराण, विष्णु पुराण र महाभारत लगायतका ग्रन्थमा पितृकार्य तथा श्राद्धको धार्मिक महत्त्व व्याख्या गरिएको छ।
धार्मिक विश्वासअनुसार सोह्रश्राद्धको समयमा पितृहरू पितृलोकबाट पृथ्वीमा आउने र आफ्ना सन्तानबाट तर्पण, पिण्डदान तथा श्राद्धको अपेक्षा गर्ने मान्यता छ।
श्राद्ध तथा तर्पण श्रद्धापूर्वक गरेमा पितृ प्रसन्न हुने र सन्तानलाई सुख, शान्ति, समृद्धि तथा वंशवृद्धिको आशीर्वाद प्राप्त हुने शास्त्रीय विश्वास रहेको छ।
यसै मान्यताका कारण पितृपक्षलाई दिवंगत आफन्तप्रति श्रद्धा व्यक्त गर्ने र पितृऋण सम्झने महत्त्वपूर्ण अवधिका रूपमा लिइन्छ।
शास्त्रीय विधानअनुसार विभिन्न प्रकारका श्राद्धका लागि समयसमेत फरक तोकिएको छ। एकोद्दिष्ट श्राद्ध अर्थात् वार्षिक तिथिमा गरिने श्राद्ध मध्याह्न समयमा गर्ने विधान रहेको छ भने पार्वण श्राद्ध, जुन पितृपक्षमा गरिन्छ, अपराह्न समयमा गर्ने परम्परा छ।
त्यस्तै, आभ्युदयिक श्राद्ध भने प्रातःकालमा गर्ने शास्त्रीय विधान रहेको बताइन्छ।
सम्भव भएसम्म प्रत्येक गृहस्थीले आफ्नै घरमा श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता रहेको छ। आफ्नै घरमा गर्न सम्भव नभएको अवस्थामा भने नजिकको तीर्थस्थल, नदी, मन्दिर वा तुलसीको मठमा श्राद्ध तथा तर्पण गर्न सकिने परम्परा छ।
पितृपक्षलाई धार्मिक कर्मकाण्डसँगै दिवंगत आफन्तप्रतिको स्मरण, श्रद्धा र पारिवारिक दायित्वसँग जोडिएको अवधिका रूपमा नेपाली समाजमा लिइँदै आएको छ। सोह्रश्राद्धपछि नेपालीहरूको प्रमुख पर्व बडादशैं सुरु हुने भएकाले यस अवधिलाई दशैंअघि गरिने महत्त्वपूर्ण पितृकार्यका रूपमा समेत लिने गरिन्छ।
.gif)

.png)


