सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
आज देशभर वर्षाको सम्भावना
काठमाडौं : नेपालमा एकैपटक मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ।
यी मौसमी प्रणालीको संयुक्त प्रभावका कारण आज देशभरको मौसममा बदलीसँगै विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहेको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लाग्ने पूर्वानुमान छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र कोशी तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
तराईतर्फ पनि वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, लुम्बिनीका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी र मधेस प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा सडक यातायातमा समस्या आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। देशका बाँकी भूभागमा भने आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।
तराई क्षेत्रमा पनि राति वर्षाको सम्भावना कायम रहनेछ। सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा एकभन्दा बढी प्रणालीको प्रभाव रहेकाले वर्षा हुने क्षेत्र र यसको तीव्रता स्थानअनुसार फरक पर्न सक्ने देखिएको छ।
विशेषगरी भारी वर्षाको सम्भावना रहेका पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा तथा नदी, खोला र कमजोर भौगोलिक क्षेत्रमा बसोबास गर्दा सतर्कता अपनाउन आवश्यक देखिन्छ।
.gif)

.png)


