पछिल्लो २४ घण्टामा १६४ मिलिमिटरसम्म वर्षा

शुक्रबार हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना


२०८३ असोज ८ बिहीबार १४:०७ बजे
फाइल फोटो

काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा वर्षाको गतिविधि बढेको छ। मौसमविद्का अनुसार आगामी शनिबारसम्म देशका विभिन्न भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा सतर्कता आवश्यक छ।

बंगालको खाडीमा विकसित प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपास जमिनमा प्रवेश गरेको नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले जानकारी दिए। उक्त प्रणालीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरिरहेकाले वर्षाको गतिविधि बढेको हो।

हाल कर्णालीदेखि पूर्वी भू–भागसम्म सामान्यदेखि आंशिक बदलीको अवस्था छ। गण्डकीको पूर्वी भू–भागसहित लुम्बिनी, बागमती, कोशी र मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भने भारीदेखि धेरै भारी वर्षा भएको छ। ती क्षेत्रमा करिब १६४ मिलिमिटरसम्म वर्षा मापन गरिएको मौसमविद् ढकालले जानकारी दिए।

आज लुम्बिनीबाट पूर्वतर्फका धेरै भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको उनले बताए। 

त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। तराईका केही स्थानमा सामान्यभन्दा केही तीव्र हावाहुरीसमेत चल्न सक्ने सम्भावना छ।

शुक्रबार भने वर्षाको प्रभाव थप बढ्ने पूर्वानुमान छ। कर्णालीदेखि पूर्वी भू–भागसम्म वर्षाको गतिविधि केन्द्रित हुने र केही स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद्हरूले आकलन गरेका छन्। 

सोही दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको विभागले जनाएको छ।

शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ सर्ने सम्भावना रहेको बताइएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको मौसमविद् ढकालले बताए। 

गण्डकीदेखि पश्चिमका विभिन्न भू–भागमा समेत वर्षाको गतिविधि बढ्न सक्ने भएकाले ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

मौसमविद् ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। यद्यपि मौसम प्रणाली छिनछिनमा परिवर्तन हुनसक्ने भएकाले विभागले न्यूनचापीय प्रणालीको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना अद्यावधिक गर्दै जाने जनाएको छ।

उनले वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा भारी वर्षाबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७